वीरगंज - वीरगंज उपमहानगरपालिकाबाट पाँच दिन अघि अपहरणमा परेका ८ वर्षीय बालकको हत्या भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाँ निवासी शम्भू साहको ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपहृत बालकको शव कलैया उपमहानगरपालिकाको खैरहवास्थित खोलामा फेला परेको छ। गत शुक्रबार बिहानदेखि बेपत्ता भएका बालकको रिहाइको लागि अपहरणकारीले फिरौती लेनदेनको लागि अभिभावकसँग मोलतोल गरिरहेकै समयमा एक्कासी बालकको शव फेला परेपछि अभिभावक स्तब्ध बनेका छन्।
अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती माग गरेकोमा अभिभावकले कमजोर आर्थिक अवस्थाका कारण ५ लाख रुपैयाँ मात्र दिनसक्ने भन्दै अपहरणकारी समूहलाई सहमत गराएका थिए।
फिरौती रकम लिनु अघि बालकलाई मुक्त गर्न अपहरणकारी समूहले आनाकानी गरेपछि मात्र अपहरणबारे अभिभावकले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। फिरौती रकम लिन अपहरणकारीले बोलाएको ठाउँमा जाँदा अपहरणकारीले बालकको शव देखाएपछि सादा पोशाकमा रहेका प्रहरीले गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो। अपहरणमा संलग्न रहेको आरोपमा विकास शर्मा, सिकेन्द्र साह र राम विनेश महत्तोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ढकालले जानकारी दिए।
बालक अपहरणबारे ढिलो गरी जानकारी आएकोले बालकलाई उद्धार गर्न नसकिएको प्रहरी अधिकारीको भनाइ छ। नियन्त्रणमा लिइएकामध्ये भारतीय नागरिक शर्मा अपहरण र हत्याको मुख्य योजनाकार रहेको प्रहरी दाबी छ।
गत वर्ष मात्र छिमेकी जिल्ला बारामा अपहरणकारीले दुई बालकको अपहरणपछि हत्या गरेका थिए। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट जेठ २२ गते अपहृत ९ वर्षीय बालक अंकित साहको हत्या भएको थियो। बालकको आफन्तले फिरौतीवापतको रकम लिएर हत्या गरेको अवस्थामा एक महिनापछि शव फेला परेको थियो।
त्यस्तै असोज २४ गते अपहृत सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा दीपक यादवको पनि अपहरणपछि हत्या भएको थियो।
यी दुबै अपहरणको घटनामा आफन्त र छिमेकीको संलग्नता रहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४