आइतबार, साउन २४, २०८३

गणतन्त्रमा गुन्जिएका कविता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी - राजासँग असन्तुष्ट नेपाली २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डसँगै झन् रुष्ट बने। तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रलाई हाइज्याक गरेर २०६१ माघ १७ बाट प्रत्यक्ष शासन लिएपछि त आक्रोशको सीमा नाघ्यो। यही आक्रोशको आधारमा  जनआन्दोलन २०६२/६३ भएको जानकारहरुको भनाइ छ।

२०६२ चैत २४ गतेबाट  दोस्रो जनआन्दोलन सुरु भयो। राजधानी काठमाडौंसँगै देशभर आन्दोलन भयो। नेताहरु भाषण गर्ने, आमसर्वसाधारण नारा लाउने। गायकहरु गीत गाउने। कविहरु कविता भन्ने। यस्तो यस्तै भएर आन्दोलनले उचाइ पाइरहेको थियो।

जनआन्दोलनताका विराटनगर पूर्वी नेपालकै इपिसेन्टर थियो। प्रजातन्त्र ल्याउने जुटमिल आन्दोलन उठाउने विराटनगरले दोस्रो जनआन्दोलनमा पनि उत्तिकै उचाइ पायो। तत्कालीन जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाको होमटाउन विराटनगर कविहरुको आन्दोलनको पनि इपिसेन्टर रहेको थियो।

वरिष्ठ कवि कृष्णभूषण बलदेखि गण्डकी पुत्र, विवश पोखरेल, सुमन पोखरेल, ज्योति जंगल, सीमा आभास, शुभलक्ष्मी लम्साललगायत विराटनगरमा कविहरु गणतन्त्रको आन्दोलनमा थिए। अरुले सर्वसाधारणको भाषामा गणतन्त्रको आवाज उठाइरहेका थिए।  कविहरु भने कविताको भाषामा गणतन्त्रको आवाज बुलन्द गरिरहेका थिए।

कवि सुमन पोखरेलले लेखे–

ढोका थुनेर छेकिँदैन,

आर्लाम राखेर जोगिँदैन

आउनु छ भने,

कुनै बाटो र पूर्वाभास विनै आउँछ

र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले।


सक्रिय राजतन्त्रको समयमा गणतन्त्र आउनै लागेको बिम्ब पिलोलाई बनाएर कवि पोखरेलले कविता लेखेका थिए।

विराटनगरका अग्रज कवि तथा पूर्व प्राज्ञ विवश पोखरेलले राजतन्त्रलाई ‘छाता’ बिम्ब दिएर कविता लेखे–  

क्षमा गर –
यसपल्ट फेर्न चाहन्छु म
तिमीले
थुमथुम्याउँदै छोप्दै र ढाक्दै आएको
आश्वासनको जडाउरी पीताम्बर।
र फ्याँक्न चाहन्छु
सुरक्षित ओत दिनुको नाममा
तिमीले निरन्तर ओढाउँदै आएको
छलको बूढो र थोत्रो छाता।


विराटनगरमा जनआन्दोलन हुँदा अत्यन्तै सक्रिय सडक कविता वाचन गरेका कवि गण्डकी पुत्रले त हाकाहाकी राजालाई ताकेर कविता लेखे। महेन्द्रका माइला छोरा ज्ञानेन्द्रलाई लक्षित गर्दै जनआन्दोलनमा सडक कविता सुनाए उनले। उनले लेखे–

वनको राजा भन्दा पनि जाली भयौ माइला
आफ्नै फूलबारी फाँड्ने माली भयौ माइला


 विराटनगरकै कवि शुभलक्ष्मी लम्सालले जनआन्दोलनले देखेको गणतन्त्रको सपनामा एक कविता लेखिन्–

ओई  सुनाखरी!
कति हाल्छेस्  कोदोमा मर्चा र
बनाउछेस् आफ्नो जीवन भन्दा अमिलो जाँड
बरु लगा एक डबका आफैँ
आइज सभ्य सभामा र
उतारिदे १ भलादमीहरूको
बाख्राले छोपेको बाघरुपी मकुन्डो।


‘सपना र गणतन्त्र’ शीर्षक कविला लेखेकी लम्सालले दरबारै ताकेर कवितामा लेखिन्–

 ओई पेम्बा !
कति धाउँछस् आफ्नो दुस्ख जस्तै
गरुंगो भारी बोकेर जीवनको उकाली
बरु फाल्दे भारी र आइज
चढ सिंहदरबारको गेट माथि
बस राइफल लिएर,
लगा निसाना ...
त्यहाँ भित्रिने साहन्साह अनुहारहरुलाई
सुकिलो सपना बाँड्ने
गणतन्त्रका पहरेदारहरूलाई
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।