जनकपुरधाम - आजभन्दा ठिक ११ वर्षअघि संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेसँगै मुलुकभर उल्लास र खुसीको माहोल छाएको थियो। यस उल्लासबाट जनकपुर पनि पछि पर्ने कुरै थिएन। १९ दिनसम्म चलेको दोस्रो जनआन्दोलन र त्यसअघि समेत विभित्र लोकतान्त्रिक आन्दोलन तथा मधेस आन्दोलनमा भएभरको शक्ति लगाएको थियो जनकपुरले।
राजतन्त्र अन्त्य गरी मुलुकमा जनताको पूर्ण शासनव्यवस्था स्थापित गर्ने गरी भएको आन्दोलनको परिणामस्वरुप संविधानसभाबाट गणतन्त्रको घोषणा भएको दिन जनकपुरका कतिपय घरहरुमा दीपावली मनाइयो। आन्दोलनमा लागेकाहरुका साथै आमजनता घोषणा भएकै राति खुसीयालीमा जुलुस नै निकाले। नेपालबाट राजा पनि जान सक्ने कोही कसैले नसोचेको गणतन्त्र घोषणाले उल्लास र उमंग ल्याएको थियो।
संविधानसभा बैठकले देशबाट राजा फ्यालेर जनताको शासन आएको भन्दै गणतन्त्र घोषणा भएको दिनलाई जनकपुरका नागरिकले ‘दिग्विजयी’ क्षणको रुपमा लिएको बताउँछन् वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल।
‘२००७ सालदेखि वेदानन्द झाले परिकल्पना गरेको गणतन्त्रलाई मूर्तरुप दिने काम रामराजाप्रसाद सिंहले गरेका थिए’, डा. विमल सम्झन्छन्, ‘संविधानसभा घोषणा भएको दिन यहाँका जनताले भारी विजयका रुपमा लिएका थिए। खुसी र उल्लासमा कुनै कसर थिएन त्यो दिन।’
तर नेपालमा गणतन्त्रात्मक शासन व्यवस्थाबारे आमजनताको बुझाइभन्दा फरक सोच थियो उनको। उनी भन्छन्, ‘गणतन्त्रबारे आमजनताको बुझाइभन्दा सुरुदेखि नै मेरो फरक धारणा थियो। गणतन्त्र अर्थात् जनताको शासन आइसके पनि कति हदसम्म सफल हुने यसबारे मेरो चिन्ता थियो।’
जनता उल्लसित भइरहेका बेला राजालाई फ्यालेर कस्तो गणतन्त्र आउने उनको दिमागमा प्रश्नहरु खेलिरहेको उनी बताउँछन्। ‘गणतन्त्र आउनै लाग्दा नेताको चिन्तन, दृष्टि, आमजनताको चेतनालगायतका सवाल मेरो मानसपटलमा घुमिरहेको थियो’, उनी भन्छन्, ‘जनताको हातमा आएरमात्रै गणतन्त्र हुने होइन। हिटलर पनि जनताकै छोरा थिए। तर उनी क्रुर तानशाही बने।’
‘सत्ता जनताको वा राजाको हातमा हुनु ठूलो विषय होइन। आमजनताले गासवास, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका सुविधा पाए कि पाएनन् यो विषयले महत्व राख्दछ,’ विमलले भने।
गणतन्त्र आएको एक दशकभन्दा बढी भइसके पनि आमजनताले विगतको भन्दा धेरै फरक अनुभव गर्न नसकेको उनको भनाइ छ। आजजनताको अपेक्षा नष्टनाबुँद भएको र केही व्यक्तिमा मात्र केन्द्रित भएको उनी बताउँछन्।
‘करमाथि कर थपिँदै छ। राष्ट्रिय जीवनका आयाम विकृत हुँदै गएको छ। भ्रष्टाचार बढेर गएको छ,’ उनले भने, ‘गणतन्त्रमार्फत जनताले यस्ता कुराहरुको अपेक्षा पक्कै पनि गरेको थिएन्।’ राजनीतिज्ञहरुको चिन्तन र व्यवहारले गणतन्त्रप्रति विचलन ल्याउने काम गरेको भन्दै डा.विमलले गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने आवश्यकता रहेको बताए।
संविधानसभाबाट गणतन्त्र घोषणा भइसक्दा पनि जनकपुरको आमनागरिकले विश्वास गर्न सकिरहेका थिएनन् बताउँछन् प्राध्यापक डा.सुरेन्द्र लाभ। ‘गणतन्त्रबारे संविधानसभामा छलफल चलिरहेको बेला दरबार वा सेनाबाट कहिँकतै कुनै षडयन्त्र त हुने हो की भत्रे एक प्रकारकको त्रास देखिएको थियो’, लाभ भन्छन्, ‘तर संविधानसभा बैठकले गणतन्त्रको घोषणा गरेलगत्तै सयौंको संख्यामा आमनागरिक खुसियाली मनाउन सडकमा निस्के।’
‘नेपालबाट राजा हट्नसक्ने अधिकांशले कल्पनासमेत गरेका थिएनन्,’ उनी भन्छन्, ‘संविधानसभाबाट गणतन्त्र घोषणा भइसकेपछि यहाँका नागरिकमा अदुभूतखाले खुसीयाली छाएको थियो।’ गणतन्त्र घोषणा भएको त्यो दिन देखिएको उल्लास र उमंग अब सम्झनामा मात्र राख्न सकिने उनले बताए।
तर एक दशक पूरा गरिसकेको गणतन्त्रबारे अझै यहाँका आमजनतामा समान धारणा बत्र नसकेको उनको बुझाइ छ। आमजनता र सचेत नागरिकलाई गणतन्त्रबारे दुईखाले अनुभूति रहेको लाभ बताउँछन्।
गणतन्त्र आइसकेपछि कमसेकम राजा हटेर जनताको शासन आएको सचेत तथा राजनीति गर्नेहरुको बुझाइ रहे पनि आमजनताको भने फरक दृष्टिकोण देखिएको उनको विश्लेषण छ। पहिले एउटामात्र राजा रहे पनि गणतन्त्र आइसकेपछि कैयन् राजाहरु बनेको आमजनताको बुझाइ रहेको लाभले बताए।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कतिपय राजनीतिज्ञहरुले देखाउने तामझाम शोभनीय नहुँदा आमनागरिकको मनमा यस्तो सोच पलाएको उनले बताए। गणतन्त्र घोषणापछि मुलुकको राजनीतिक स्वरुप परिवर्तन भए पनि आमनागरिकले विगतको भन्दा तात्त्विक भित्रता महसुस गर्न नसकेको लाभ बताउँछन्।
दैनिक मजदुरी गरेर जीवनयापन गरिरहेका जनकपुरधाम–४ बस्ने चन्दन मण्डल गणतन्त्रको कुनै अनुभूति नभएको बताउँछन्। मजदुरी गरेर दैनिक पाँच सय रुपैयाँले घरखर्च चलाउनुपर्ने उनको बाध्यता छ। गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भत्रे आशा राखे पनि मजदुरको अवस्थामा परिवर्तन आउन नसकेको मण्डलको भनाइ छ। प्रजातन्त्रदेखि संघीयतासम्म आइपुगे पनि आमनागरिकको जीवनमा खासै फरक नपरेको उनले बताए।
गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपालीको चाहना अझै अधुरो छ। मुलुक गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गरिरहँदा आशा गरेजस्तो उपलब्धि हुन नसकेको यो यथार्थलाई अधिकांशले औंल्याउने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४