वीरगंज - बाराको सिम्रौनगढ नगरपालिकामा गत जेठ ६ गते ६० वर्षीय एक पुरुषको हत्यामा संलग्न रहेको आरोपमा एक किशोर किशोरीको जोडी पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा नौं कक्षामा अध्ययनरत १७ वर्षीय किशोर र १० कक्षामा अध्ययनरत १६ वर्षीया किशोरी रहेका छन्।
जेठ ६ गते सिम्रौनगढ नगरपालिका–झवानीस्थित गाउँदेखि दक्षिणतर्फ खेत छेउ घर बनाएर एक्लै बस्दै आएका स्थानीय ६० वर्षीय महरा चमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्न रहेको आशंकामा दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।
ती दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि अभिभावकलाई जानकारी दिने भन्दै चमारले धम्क्याएपछि उनको हत्या गरिएको हुनसक्ने प्रहरी आशंका छ।
हत्यापछि फरार रहेको जोडीलाई बारा प्रहरीले सीमावर्ती क्षेत्रबाट गत जेठ १२ गते पक्राउ गरेको हो। पक्राउ परेका दुबैलाई कर्तव्य ज्यान अन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।
यसैबीच वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा घरको जग खन्ने क्रममा माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको परवानिपुरका ४८ वर्षीय जवाहिर साह र बाराकै विश्रामपुर गाउँपालिका इटियाहीका ५० वर्षीय दशरथ पंडित रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
राजाराम जलानको घर बनाउने काममा खटिएका सोमबार जग खन्ने क्रममा खालडेमा माटोको ढिस्कोले पुरिएर दुबैजनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए। दुर्घटनामा सामान्य घाइते भएका ४५ वर्षका राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकको परिवारलाई ठेकदारले ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४