काठमाडौं - सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त प्रमाण लिएर फर्किए पनि सीआइबिकै अर्को टोलीको नेतृत्वले स्थलगत अनुसन्धान जारी राखेको उपरीक्षक कुँवरले बताए। “थप प्रमाण जुटाउन अनुसन्धान जारी रहन्छ” प्रहरी नायब उपरीक्षक कुँवरले भने, “घट्नामा संलग्नको पहिचानका लागि प्राप्त प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा अनुसन्धान हुनेछ।”
मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको बिभत्स हत्यामा बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमलाई प्रहरीले मुख्य अभियुक्त ठहर्याएको छ। माखिमको शव मङ्गलबार उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो। माखिमको शव फेला परेको स्थानबाट करीब १० मिनेटको पैदल दुरीमा रहेको मिक्लाजुङ गाउँपालिका–८ को मालबाँसे जङ्गलमा रगत लत्पतिएको दापसहितको एक थान खुकुरी, रगत लत्पतिएका तीन थान टिसर्ट, एक थान झोला, एक जोर चप्पल र एक थान हाफपाइन्ट फेला परेको थियो।
थप अनुसन्धानका ती सामग्री प्रहरी विधि विज्ञान प्रयोगशालामा पुर्याइने भएको छ। “यी सामग्रीबाट सामूहिक हत्यामा संलग्नबारे केही प्रमाण जुट्नेछ” प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भने, “बाँकी प्रमाणका लागि स्थलगत अनुसन्धान, सोधपुछ जारी रहनेछ।”
सामूहिक हत्या प्रकरणमा मारिएका नौजना र आत्महत्या गरेका एक जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण र शवमाथि अनुसन्धान र प्रमाण सङ्कलन सम्पन्न गरिएको छ। शव परीक्षण सकेर आफन्तलाई जिम्मा लगाइएको छ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले एक्लैले यत्तिका मान्छेको हत्या गर्यो भनेर विश्वास गर्न नसकिएको बताए। बमबहादुर दम्पत्तिका छोरा नभएका कारण ज्वाइँ धनराजले ससुरालीभन्दा करीब डेढ किलोमिटर माथि घर जग्गा किनेर सासू ससुराको स्याहार गर्दै आएको वडाध्यक्ष हस्तराज फियाकको भनाइ छ।
घट्नापछि प्रहरीको प्रारम्भिक अनुसन्धानले बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले श्रीमती मनकुमारीसँग नचाहेरपनि सम्बन्ध विच्छेद गर्नुपरेको झोकमा सबैको हत्या गरेको अनुमान गरेको थियो।
माखिमले साढुदाइ धनराजका कारण आफूले श्रीमतीलाई छोड्नुपरेको बताउँदै आएको स्थानीयवासीको दाबी छ। मानबहादुर र मनकुमारीबीच हालै मात्र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको वडाध्यक्ष फियाकले जानकारी दिए। घटना रहस्यमय भएका कारण प्रहरीले विस्तृत अनुसन्धान गर्ने जनाएको छ। “अहिले नै सबै प्रमाण जुट्ने र हत्याको कारण, हत्यामा संलग्नबारे पहिचान हुनसक्दैनन्” प्रहरी निरीक्षक पौडेलले भने, “विस्तृत अनुसन्धान, शव परीक्षण रिपोर्ट लगायतपछि कुनै निष्कर्ष निस्केला।” रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४