काठमाडौं - डा. बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टी नेपाल दल अहिले सरकारमा संलग्न छ। सत्तारुढ सांसद बनेका बाबुराम भने प्रतिपक्ष बेन्चमा बसिरहेका छन्।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच वैशाख १८ गते एकीकरण घोषणा भएको थियो। दुबै पार्टी मिलेर समाजवादी पार्टी नेपाल बनेको छ। अहिले समाजवादी पार्टी सत्तारुढ दल हो। समाजवादी पार्टीबाट तीन जना मन्त्री सरकारमा सहभागी छन्।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्थास्थ्य तथा जनसंख्या मन्त्री छन् भने सचिव इस्तियाक राई शहरी विकास मन्त्री । डा.सुरेन्द्र यादव स्वास्थ्य राज्य मन्त्री। पार्टी एकीकरण घोणा भएको झण्डै तीन साता हुँदासमेत पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भने प्रतिपक्ष मै बसिरहेका छन्।
संघीय संसदको प्रतिनिधि सभाका सदस्य डा.भट्टराई बुधबारको संसद बैठकमा पनि प्रतिपक्ष मै बसेका थिए। सत्तारुढ समाजवादी पार्टीका अन्य सांसदहरु सभामुखको दाया पट्टि बस्दै आएका छन् भने डा.भट्टराई एक्लै बाँया पट्टि बसेका छन्। संसदीय अभ्यासमा सत्तारुढ दलहरु सभामुखको दायाँ पट्टि र प्रतिपक्षी दलहरु बाँया पट्टि बस्ने प्रचलन छ।
यसैबीच, संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेले पार्टी एकीकरणको आधिकारि पत्र आउन नसकेकोले डा.भट्टराईको आशन अहिलेसम्म प्रतिपक्षमै रहेको बताए।
प्रवक्ता पाण्डेले आधिकारिक पत्र आएपछि भट्टराईलाई सत्तापक्षमा बसाइने जनाए। डा.भट्टराईको सचिवालयले भने निर्वाचन आयोगमा दल दर्ताको क्रममा रहेकोले आधिकारिक पत्र आउन नसकेको जनाए। निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पुरा भएपछि संसद सचिवालयलाई बुझाइने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४