आइतबार, साउन २४, २०८३

गाँजा र चरेश तस्करीमा राजनीतिक सेटिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज - राजनीतिक दलको स्थानीय नेतृत्व र प्रहरीको संरक्षणमा मौलाएको लागूऔषध गाँजा र चरेश कारोबारमा अंकुश लगाउन थालेको छ। प्रहरीले छापा मार्न थालेपछि चार दिनयता पटेर्वासुगौली गाउँपालिकाको एउटै वडाबाट दैनिक जसो ठूलो परिमाणमा गाँजा र चरेश बरामद भइरहेको छ।

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीकै सक्रियतामा पटेर्वासुगौलीको देउरिया गाउँमा व्यापक परिमाणमा गाँजा र चरेश भण्डारण गरेर राखिएको सूचना जिल्ला सुरक्षा समितिसमक्ष पुगेको थियो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमेत उपस्थितिमा सुरक्षा अधिकारीले गाउँपालिका अध्यक्ष चौधरीलाई कारबाहीको चेतावनी दिएपछि अहिले उनी नै गाँजा चरेश बरामद गराउन सक्रिय छन्। अध्यक्ष चौधरीले सुरक्षाकर्मीले गाउँमा कुनै पनि बेला छापा मारेर गाँजा–चरेश नियन्त्रणमा लिने र मान्छेसमेत पक्राउ गर्ने चेतावनी दिँदै गाउँलेलाई लागूऔषध तस्करी बन्द गर्न आग्रह गरेका थिए। तर गाउँलेले नटेरेपछि उनी आफैं छापा मार्न सक्रिय भएको स्थानीय बासिन्दाले जानकारी दिए।

पहिलो पटक प्रहरीले छापा मार्दा गाउँपालिका अध्यक्ष चौधरी आफैंले वडा नम्बर ५ देउरिया गाउँमा शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई गाँजा भण्डारण गरिएको गोदाम देखाएका थिए। आफूहरुको मात्र गाँजा बरामद गरेको भन्दै स्थानीयले एकअर्काविरुद्ध पोलापोल गर्न थालेपछि अहिले धमाधम गाँजा र चरेश बरामद भइरहेको छ।

पहिलो दिन छापामारीको क्रममा शुक्रबार प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–५, देउरियाबाट २ सय ६८ किलो गाँजा, ७ किलो चरेश र ६२ किलो चरेशको धूलो बरामद गरेको थियो। यस्तै गाँजा च्याप्ने तीनवटा मेसिन र गाँजा प्रेस गर्ने काठका १२ वटा साटा बरामद गरेको छ।

दोस्रो पटक मंगलबार छापा मार्दा देउरियाबाटै  २ क्विन्टल ५२ किलो गाँजा र ४२ किलो चरेश बरामद भएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए। लगत्तै बुधबार पुनः देउरियामै छापा मार्ने क्रममा प्रहरी टोलीले सर्वसाधारणको घरबाहिर नाला र बाटोमै फ्याँकिएको अवस्थामा र ठग ओझैयाको घरबाट २८ किलो चरेश र २४ किलो गाँजा तथा चरेश, गाजा बनाउने मेसिन ११ थान बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट ११ थान चरेश र गाँजा बनाउने मेसिन बरामद गरेको छ।

कहाँबाट आउँछ गाँजा र चरेश?

प्रहरीले बरामद गरेको गाँजा स्थानीय खेतबारीमा उत्पादन गरिएको होइन। अधिकांश मकवानपुर र धादिङबाटै पर्सा राष्ट्रिय निकुञ्जको बाटो हुँदै भरियामार्फत भित्र्याएर देउरियामा भण्डारण गरिएको हो। चरेश उत्पादन गर्न प्रयोग हुने धुलो पनि उतैबाट ढुवानी गरेर स्थानीयले घरघरमा प्रशोधन गरेर तयार पारेका हुन्। स्थानीय बासिन्दाका अनुसार देउरिया गाउँको आठवटा स्थानमा चरेश प्रशोधन गर्ने उद्योग नै सञ्चालनमा रहेको थियो।

भण्डारण गरिएको गाँजा भिस्वा, जानकीटोला, पाडेपुर नाका हुँदै पुनः भरिया, मोटरसाइकल वा जिपमा ढुवानी गरेर सीमापारि भारतीय बजारमा पुर्‍याउँछन्। ढुवानी गर्ने क्रममा उद्गम बिन्दुदेखि सीमासम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको कम्तीमा ६ देखि १० वटा चौकीको क्षेत्र भएर गुज्रने भएकाले प्रहरी संलग्नता बिना गाँजा र चरेशको तस्करी सम्भव नभएको हो।

गाँजा तस्कर किन पक्राउ परेनन् ?

गाउँमा प्रहरीले निरन्तर निगरानी गरिरहेको र गाउँपालिका अध्यक्ष चौधरीले समेत संरक्षण नगर्ने चेतावनी दिइसकेको राम्ररी बुझेका गाउँलेले बेवारिसे अवस्थामा गाँजा र चरेश फ्याँक्न र छापामारीको समयमा घर छोडेर भाग्न थालेपछि पक्राउ गर्न नसकिएको प्रहरीको दाबी छ। पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले भने, ‘हामीले मान्छेसमेत पक्राउ गर्ने प्रयास गरेका हौं। तर छापामारका  क्रममा गाउँमा मान्छे थिएनन। कतिपय गाँजा चरेश सडक र नालामा बरामद भएको थियो।’ उनले शंकास्पद व्यक्तिलाई आवश्यक प्रमाण जुटाएर कानुनी कारबाहीको दायरामा ल्याइने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।