काठमाडौं - पाँचथरमा ९ जनाको सामूहिक हत्या भएको विषयमा गृहमन्त्री रामबहादुर थापालले संघीय संसदको राष्ट्रिय सभालाई जानकारी गराएका छन्। संघीय संसदको दुवै सदनमा हिजो र आज सांसदहरुले उक्त घटनाबारे सरकारसँग जानकारी माग गरेको थिए । गृहमन्त्री थापाले अपराधी छिटै पक्राउ पर्ने दाबी गरे।
‘स्थानीय शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो घटनास्थल पुगेर अनुसन्धान अगाडि बढाएको छ’, गृहमन्त्री थापाले भने, ‘१० जनाको लास बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनामा बाच्न सफल सीताको दमकमा उपचार हुँदैछ।’
‘घटना भएको स्थान नजिकै एक जना झुण्डेको अवस्थामा फेला परेको थियो। साथै खुकुरी फेला परेको थियो। घटनाका अनुसन्धान जारी छ’, गृहमन्त्री थापाले भने, ‘यथाशीघ्र अनुसन्धान प्रतिवेदन बनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ।’ अपराधीलाई तत्काल पक्राउ गरिने जानकारी दिँदै उनले भने, ‘भविष्यमा यस किसिमको घटना हुन नदिन प्रहरीलाई सचेत गराइएको छ। गाउँबासीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दछु।’ यो घटना पारिवारिक कलहसँग सम्बन्धित हुन सक्ने आशंका गृहमन्त्री थापाले व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४