काठमाडौं – काठमाडौंबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिकले सोमबार राति पाँचथरमा दुई परिवारका नौं जनाको भएको विभत्स हत्यालाई आफ्नो प्राथमिकतामा पारेका छन्।
नयाँ पत्रिका दैनिकले पाँचथर हत्या : सातथरी प्रश्न शिर्षकको समाचारलाई प्राथमिकतामा पारेको छ। नयाँ पत्रिकाले हत्याको बारे उब्जेका प्रश्नमा भनेको छ, नौंजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे, सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो, खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन?, मात्र एकजनाको खुकुरीले नौंजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन्? हत्यारा ठानिएका मानबहादुरको पनि आत्महत्या तर तीनवटा टिसर्टमा रगत, हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा र खुकुरीले हानेर नौंजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन।
नयाँ पत्रिकाले नै क्रुर बन्दै समाज, आफन्तभित्रै हत्या बढ्दो शिर्षकमा अर्को समाचार प्रकाशन गरेको छ। सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ। प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन्। गत साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ। जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।
साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन्। १५ आमाबाबु छोराबाट मारिएका छन्। आमाले ६ बालबालिका तथा ८ नवजात शिशुको हत्या गरेका छन्। चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरी तथ्यांकमा उल्लेख छ। यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् । त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए ।
यस्तै यही हत्याको समाचारलाई अन्नपूर्ण पोष्टले कारुणिक नरसंहार शिर्षकमा प्रकाशन गरेको।
नौ जनामाथि एकै व्यक्तिद्वारा खुकुरी प्रहार गरी हत्या ! सुन्दा पनि कहालीलाग्दो यस्तो घटना सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा भएको छ। नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका हुन्। प्रहरीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै नवैजनाको एकजनाले हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन नौ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन।
बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन्।
यस्तै धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ। बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी छन्। उनलाई उपचारका लागि झापा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। उनले हत्या कसले किन ग¥यो भन्नेबारे अनुसन्धान भइरहेको बताए। बमकुमार फियाक मानबहादुरका ससुरा हुन्। उनीहरूको घर १५ मिनेट पैदल दुरीमा छ।