काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार गठन गरेको छाया सरकारका मन्त्रीहरु मंगलबारबाटै सक्रिय भएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा छाया सरकारका चार जना मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमाथि निगरानी गर्दै विभिन्न प्रश्न उठाएका छन्।
छाया सरकारका एक जना मन्त्रीले बलात्कार घटनामा छानबिन नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले मूल्यवृद्धिको विषयमा ध्यानाकर्षण गराउँदै तरकारीका सम्बन्धमा प्रश्न गरेका छन्।
‘यस वर्ष मूल्यवृद्धिले आकाश छोएको छ। नयाँ कीर्तिमान स्थापित गरेको छ। सरकारलाई धन्यवाद र बधाई दिन चाहन्छु’, बडुले भने, ‘एक महिनाभित्र तरकारीको मूल्य दोब्बर भएको छ भने किसानले पाएको भन्दा पाँच गुणा बढी जनताले तिर्नुपरेको छ। बिचौलियाका मुकर्दशक सरकार बनेको छ।’ मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले चालेको कदमका विषयमा प्रश्न गर्दै बडुले भने, ‘सरकारले मूल्यवृद्धि रोक्न के उपाय चालेको छ जबाफ चाहियो।’
यसैगरी, छाया सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री देवेन्द्रराज कँडेलले बलात्कार तथा हत्याका घटनाको विषयमा प्रश्न गरेका छन्। ‘हत्या र बलात्कारको घटना बढ्दै गइरहेका छन्। पाँचथरको दुईवटा परिवारको ९ जनाको हत्या भएको छ’, कँडेलले भने, ‘यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। यसबारेका गृहमन्त्रीले जबाफ दिनुपर्ने हो।’ यति कुरा कँडेलले २० सेकेन्डमा गरेका थिए। त्यसपछि उनको माइक काटिएको थियो। माइक काटिएको विषयमा प्रश्न गर्दा उनलाई पुनः चालीस सकेन्ड दिइयो।
त्यसपछि कँडेलले सुनवल नगरपालिकाको कीर्तिपुरमा दुईवटा बालिकामाथि प्रहरीबाटै बलात्कार भएको घटनाबारे ध्यानाकर्षण गराए। घटनाका दोषीलाई कारबाही हुनु बताउँदै कँडेलले भने, ‘निर्माला पन्तजस्तै कारबाही भएन भने सशक्त आन्दोलनमा जानुपर्ने हुन्छ।’
छाया सरकारका कृषि तथा पशुपक्षीमन्त्री पदमनारायण चौधरीले सिरहाको लहानको विकास आयोजनाबारे बोले। ‘लहानको विकास योजना पञ्चायतकालमा सुरु भए पनि अहिलेसम्म पूरा भएको छैन’, उनले भने, ‘त्यहाँका किसानका लागि विकासको योजना परेको छैन। त्यहाँ जग्गा रोकिएको छ।’ चौधरीले स्थानीय तहको काममा सरकारले निगरानी गर्नुपर्ने बताउँदै निगरानी नभए बजेट बालुवामा पानी खनाएको जस्तो हुने दाबी गरे।
यसैगरी, छाया सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री पार्वती डिसी चौधरीले नसहरुको आन्दोलनलाई सरकारले बवास्ता गरेको भन्दै आपत्ति जनाइन्। ‘नर्सहरु आन्दोलिन छन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ’, उनले भनिन्, ‘जिता बराल भन्ने नर्स आमरण अनशनमा बसेको छ तर सरकारले सुनेको छैन। सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४