काठमाडौं - पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको
विभत्स हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले आत्महत्या गरेका छन्। घटना सार्वजनिक भएको केही घण्टामै सोही गाउँपालिकाको वडा नम्बर ७ का मानबहादुर माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको छ। प्रहरी प्रवक्ता विश्वराज पोखरेलले हत्या गरिएको स्थान नजिकै उनको शव झुण्डिएको अवस्थामा फेला परेका बताए। युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
माखिम हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेका खुलेको छ। माखिम बमबहादुर फियाकका कान्छी छोरीका श्रीमान् हुन्। उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो। बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन्। ९ जनाको विभत्स हत्या भएको घटना स्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको हो।