जनकपुरधाम – नेपाली कांग्रेसले प्रदेश सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ। भनाई र गराइमा भिन्नता रहेको भन्दै कांग्रेसले प्रदेश सरकारको कामकबारहीप्रति आपत्ति जनाएको हो।
सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले सरकार सदनप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए। आफूहरुले उठाएको प्रश्नहरुको जबाफ नदिएर सरकार गैरजिम्मेवारपूर्ण रुपमा प्रस्तुत भएको उनको भनाइ थियो।
‘सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै हामीले पटक–पटक सरकारको जबाफ मागेका छौं,’ सिंहले भने, ‘जबाफ नपाएपछि हामीले लिखित नै दियौं। तर, हालसम्म जबाफ पाउन सकेका छैनौं। सरकार सदनप्रति अनुउत्तरदायी भएको छ।’ आफूहरुले सोधेको प्रश्नको जबाफ नदिएको भन्दै प्रदेशसभा सदस्यले सरकारलाई रुलिङ गर्न सभामुखसँग आग्रह गरेका छन्।
सरकारले आफूहरुसँग पटकपटक सहमति गरेपनि कार्यान्वयन गर्न नचाहेको उनको आरोप थियो। विगत एक महिनादेखि अवरुद्ध सदन खोलाउन सरकारले गरेको सहमतिसमेत उधारो नै रहेको सिंहले जिकिर गरे।
प्रदेश सभा सदस्य सिंहले बजेट दुरुपयोग र भ्रष्टाचार गर्ने उदेश्यले प्रदेश सरकारका मन्त्रीहरुले अनावश्यक रकमान्तर गरेको आरोप लगाए। प्रदेशमा स्वास्थ्य र शिक्षाको खस्कदो अवस्था रहेपनि त्यसतर्फ ध्यान नदिइ सरकारका मन्त्रीले अनउत्पादक क्षेत्रमा रकमान्तर गरेर बजेट दुरुपयोग गरेको उनको भनाइ थियो।
‘औषधि नपाएर जनता छटपटीइ रहेका छन्, लाखौं बालबालिका विद्यालय जान पाएका छैनन्,’ सिंहले भने, ‘तर सरकारका मन्त्रीले स्वास्थ्य र शिक्षाको पैसा भवन निर्माणमा रकमान्तर गर्नु भएको छ।’ ‘स्वास्थ्य र शिक्षाको पैसा उपभोक्ता समितिमार्फत हुने भवन निर्माणको लागि कसरी र किन रकमान्तर गरियो,’ सिंहले प्रश्न गरे। उपभोक्ता समिति बनाएर कसरी आफूलाई फाइदा हुन सक्छ भनेर नै मन्त्रीले स्वास्थ्य र शिक्षाको पैसा रकमन्तर गरेर भ्रष्टाचार गर्न खोजेको घुमाउरो तरिकाले उनले आरोप लगाए।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपाकी सांसद मञ्जु यादवले प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गरिन्। स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने उदेश्यले यस्तो विधेयक ल्याइएको भन्दै प्रदेशसभा सदस्यले विधेयकको विरोध गरिन्। मधेश आन्दोलनको जगमा बनेको सरकार बनेको भन्दै आन्दोलन ताका पत्रकारले खेलेको भूमिका स्मरण गर्न उनले सरकारको ध्यानाकर्षणसमेत गराइन्। स्वतन्त्र प्रेसलाई अंकुश लगाउने गरी प्रदेश सरकारले ‘कपी–पेस्ट’ विधेयक ल्याएको प्रदेशसभा सदस्य यादवले व्यङ्ग्य गरिन्।
सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादवले प्रेस स्वतन्त्रताप्रति सञ्चारकर्मी सजग रहनु खुशीको कुरा रहेको बताए। पत्रकारहरुको पारिश्रमिक, बीमालगायतका बारे केहि बोल्न नसकेको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनु गलत रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्षसमेत रहेका यादवले बताए।
बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जबाफ दिन सभामुख सरोज यादवले सरकारलाई रुलिङ गरेका छन्।
सोमबारको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भौतिक विकास मन्त्री जितेन्द्र सोनलले प्रादेशीक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा बनेको विधेयक प्रस्तुत गरेका छन् भने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पेश गरेको प्रदेश एफएम रेडियो र टेलिभिजन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक उपर सैद्धान्तिक छलफल सुरु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४