जनकपुरधाम – उपभोक्ता समिति गठन गर्न किर्ते गरेको अरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दुईजना केन्द्रीय सदस्य जेल चलान भएका छन्। सप्तरी जिल्ला अदालतले राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डललाई सोमबार पुर्पक्षका लागि करागारमा राख्न आदेश सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलासले दुबै जनालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको अदालतले जनाएको छ।
यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत ४ लाख धरौटी तिरेर रिहा भएका छन्। पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही स्थानका दिलिप दासलाई जनही साढे दुई लाख धरौटी बुझाउन अदालतले आदेश दिएको छ।
उनीहरुले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन उनीहरुले गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड र दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति गठन गरेको आरोप छ। उनीहरुले उपभोक्ता समिति गठन गर्न किर्ते गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४