काठमाडौं - राणा खानदानको जन्म। सानैमा मातृवियोग, बाबु चितवनको काठ गोदामको हाकिम, सौतेनी आमाको कहर आदि दुःख भोग्दै हजुरआमाबाट हुर्किबढेका हरिकुमार राणाको बाल्यकाल त्यति सहज थिएन। आधार स्कुलबाट औपचारिक शिक्षा थालनी गरेका उनले कहिले तराईका विभिन्न ठाउँ र कहिले इलाममा पुगेर शिक्षा हासिल गरे। संघर्षपूर्ण जीवन भए पनि उनले विद्यालय शिक्षा पूरा गरेरै छाडे। पढिसकेपछि उनलाई सेनामा जान प्रस्ताव आयो। कसैलाई मार्नुपर्ने हो कि भन्ने डर लाग्यो उनलाई। त्यसैले त्यसमा रुचि लागेन। लेखापढीमा लाग्न धेरैतिरबाट प्रस्ताव आयो। यसमा पनि उनी आकर्षित हुन सकेनन्। घरको काममा लागेर दिन बिताउन थाले।
राणाको घर कालीमाटी नजिकै रविभवनमा डिप्लोम्याट (कूटनीतिज्ञ) को आवास थियो। बिस्तारै उनको त्यहाँ आउजाउ हुन थाल्यो। उनीहरूलाई तालिमप्राप्त कुक आवश्यक रहेछ। उनले कुकको काम सिके। त्यसका लागि अंग्रेजीमा लेखिएका विभिन्न पुस्तक पढे। बिस्तारै उनलाई यही क्षेत्रमा लाग्ने प्ररेणा मिल्यो र दत्तचित्त भएर लागे। उनी भन्छन्, ‘म पो अरूलाई तालिम दिन सक्ने भएँ र सहरमा काम जान्नेमा गनिएँ। साइकल चढेर घरघरमा पुगेर तालिम दिन थालें।’ बिस्तारै डिप्लोम्याटकहाँ मात्र होइन राजदरबारमा पनि उनको माग बढ्न थाल्यो। केही वर्ष दरबारमा पनि काम गरे र सबै खुसी भए। उनले ५ महिना सोल्टी होटलमा पनि काम गरे।
अमेरिकी पुस्तकालयका मिस्टर डोबसँग उनको राम्रो उठबस थियो। उनी यहाँबाट अस्ट्रिया सरुवा भए। राणाले लैजान प्रस्ताव गरे। राणाले भने, ‘सुरुमा नाइँ भनेँ तर श्रीमती पनि लैजान पाइने भएपछि जाने निर्णय गरेँ।’ त्यसो त तल्लो जातकी कन्यासँग बिहे गरेको भनेर उनलाई पिताले दार्जिलिङतिर पठाउन चाहेका थिए। उनीमाथि घर छाड्न दबाब थियो। त्यसैले पनि उनलाई स्वदेशमा बस्न मन थिएन। दरबारमै जागिरे राणा यहाँको कार्यशैली र शासनशैलीबाट सन्तुष्ट थिएनन्।
पाटनबाट हराएको भैरव मूर्ति फर्काउन राणाको ठूलो भूमिका छ। अहिले यो मूर्ति नेपाल फिर्ता गरी अशोक हल नजिकैको मन्दिरमा स्थापना गरिएको छ।
केही समयपछि उनले गोथे इन्स्टिच्युटमा जर्मन भाषा सिके। अनि २०२९ साल भदौतिर भियना उडे राणा दम्पती। विदेश जानेबित्तिकै काम सहज थिएन। उनले भने, ‘यहाँ पो राणाको छोरा। त्यहाँ गएपछि मैले पाँच वर्ष उनीहरूसँगै काम गर्न थालँे।’ त्यहाँ पनि उनको डिप्लोम्याटसँगै उठबस हुन थाल्यो। यही क्रममा उनलाई अमेरिका जाने प्रस्ताव धेरैले गरे। तर उनले जान चाहेनन्। राणाले लगातार ३१ वर्षसम्म काम गरे। कामबाट अवकाश भएपछि उनी सामाजिक कार्यमा जुटेका छन्।
उमेरले आठ दशक टेक्नै लागेका राणा विदेशमा कमाएको सम्पत्तिलाई नेपालका विपन्न बालबालिकाको पठनपाठनमा खर्च गरिरहेका छन्। उनी बेलाबेलामा नेपाल आइरहन्छन्। उनले एसओएस लगायतका संस्थामा आबद्ध दर्जनौं बालबालिकालाई सहयोग गर्दै आएका छन्। मुलुकमा अशान्ति फैलिएपछि उनलाई निकै असहज भयो। त्यही क्रममा उनले २०६२ तिर नेपालमा पहिलोपल्ट शान्ति घन्ट (पिस बेल) भित्र्याए। त्यो घन्ट कुलेश्वर हाइटमा स्थापना गरिएको छ। उनले भने, ‘धेरै अशान्त भएपछि मैले कुलेश्वरमा एउटा पिस बेल राख्ने निर्णय गरेँ। अहिले त्यो कुलेश्वर हाइटमा छ।’
यस्तै अस्ट्रियामा रहेका नेपालीका समुदायको नेतृत्व उनले गरेका छन्। अहिले त्यहाँ ५ हजार नेपाली छन्। उनले भने, ‘४० वर्षअघि हामी दम्पती मात्र थियौँ।’ उनलाई त्यहाँ नचिन्ने कमै छन्। उनका अनसार यहाँबाट डाक्टरी पढ्न गएका फर्कन्छन्। तर कतिपय नेपाली भने पढाइ पूरा हुन नसकेपछि उतै व्यवसायमा आबद्ध हुन्छन्। कोही त्यतै घरजम गरेर बस्छन्। उताको जीवन सहज हुन्छ। नेपाली समूह अस्ट्रिया (आना) का अध्यक्ष रहेका राणा नेपालीको हरेक सुखदुःखमा साथ दिन्छन्। त्यहाँका मानिसलाई समय छैन। तर समस्या परिरहन्छ। सम्पर्कमा आएका व्यक्तिलाई अस्ट्रियाको भूगोल, जनजीवन, रहनसहन आदिबारे जानकारी गराउँदै आएको छ यो संस्थाले। त्यस्तै आनाले नेपालका वृद्धवृद्धा, बालबालिकालाई सहयोग गर्दै आएको छ।
पाटनबाट हराएको भैरव मूर्ति फर्काउन राणाको ठूलो भूमिका छ। अहिले यो मूर्ति नेपाल फिर्ता गरी अशोक हल नजिकैको मन्दिरमा स्थापना गरिएको छ। उनले भने, ‘आफैंले खर्च गरेर यो मूर्ति नेपाल पठाउन सफल भयौं।’ उनका अनुसार अहिले त्यहाँ महिला, जनजाति आबद्ध धेरै संघसंस्था क्रियाशील छन् नेपालीको हितमा।
जीवन आशावादी हुनुपर्छ। बाँचुन्जेल केही गर्ने अठोट गर्नुपर्छ। मर्नुअगाडि केही गर्न सकियो भने अरुलाई प्रेरणा मिल्छ भन्ने उनको भावना छ। प्रेम के हो ? उनी भन्छन्, ‘प्रेम समझदारी हो। यसमा धोका दिनु हुँदैन।’ उनका अनुसार लोग्नेस्वास्नीबीच झगडा सामान्य हो। तर एकले अर्कोको अस्तित्व स्वीकार्ने हो भने परिवार सुन्दर हुन्छ।’ तीनचार कक्षामा पढ्दा प्रेममा परेका उनी अहिले तिनै जीवनसंगीनीसँग भियनाको सुन्दर बस्तीमा सुखी र खुसी जीवन बिताइरहेका छन्। फुर्सदमा कविता लेख्छन्। आफ्ना विगतलाई लिपिबद्ध गर्न चाहन्छन् उनी। उनको ‘मेरो जीवनकथा’ कृति प्रकाशित छ।
छुवाछूत के हो ? उनले भने, ‘समयअनुसार अछुत भनेर शासनकर्ताले छुट्ट्याएका हुन्। कामका आधारमा जात तोकिएको रहेछ। अहिले बाहुनले खसी काटेर बेचिरहेका छन्। अछुत भनिएकाहरू सम्पन्न जीवन बिताइरहेका छन्।’ कुनै बेला अहिले पनि उनलाई राणा खानदानको रबाफ महसुस हुन्छ। उनले भने, ‘त्यसलाई भित्रै रोक्छु, बाहिर ल्याउन सक्दिनँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४