आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दरबार हत्याकाण्डको अर्को खुलासा : श्रुति जीवितै थिइन् !

दरबार हत्याकाण्डको अर्को खुलासा : श्रुति जीवितै थिइन् !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दरबार हत्या काण्डका विषयमा थुप्रै किताबहरु लेखिएका छन् । केहिले नयाँ कुराको खुलासा गरे भने केहि किताब बाहिर जे आएको थियो त्यसकै आधारमा लेखिएका थिए । 

दरबार हत्याकाण्डकै सेरोफोरमा त्यसको नयाँ खुलासा सहितको फेरी अर्को किताब बजारमा आउने भएको छ । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका सुन्दरप्रताप रानाले लेखेको  ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको हो । 

दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको यो पुस्तकले दरबार हत्याकाण्डका थुप्रै पाटाहरु उजागर गर्ने अपेक्षा गरिएको छ । जुन कितावका केहि अंश-

त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर थिए/रगतको खोलो थियो

स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो । तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ । बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो । त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपर्थ्याे ।

म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो । तर, तत्कालै आफूलाई सम्हालेँ । को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको महत्व थियो ।

मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो । बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो ।

श्रुति जीवितै थिइन् 

सैनिक अस्पतालमा मेरोनजिक आएर शाहज्यादा पारसबाट सोधनी भयो, ‘सुन्दर, ह्वाट इज द सिचुएसन हियर राइट नाउ ? प्लिज ब्रिफ ह्वाट इज ह्यापेनिङ ?’ त्यहाँ उपलब्ध राजपरिवारका सदस्यमध्ये सबभन्दा वरिष्ठ मैले पारसलाई मात्र देखेँ । के भइरहेको छ भनेर सोधेपछि मैले आफ्नो पेसागत कर्तव्यअनुरूप जवाफ दिनुपर्थ्याे, त्यसवेलासम्मका सबै विवरण बताइदिएँ ।

यता अरू घाइतेलाई तारन्तार ल्याइँदै थियो । आपत्को त्यो वेला दरबारमा एम्बुलेन्सहरूको व्यवस्था हुन सकेन, तर सुरक्षाकर्मीहरू तुरुन्त परिचालित थिए । घाइतेमध्ये कसैलाई भ्यान, कसैलाई मिनीबस, कसैलाई पिकअप, जे–जे भेटिन्छ, त्यसैमा हालेर अस्पताल ल्याउने काम गरियो ।केहीबेरमा श्रुति सरकारलाई ल्याइयो । मौसुफलाई स्टिलको ट्रलीमा राखिएको थियो । अस्पताल ल्याइपु-याउँदा मौसुफ जीवितै होइबक्सन्थ्यो । मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो ! दुख्यो !!’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुप-यो ।’

उहाँले भन्नुभयो, ‘ठीकै छ, उहाँलाई केही भएको छैन, अलेलि दुख्यो होला ।’उहाँले यसो भन्नु पनि स्वाभाविकै थियो । किनभने सर्सती हेर्दा अधिराजकुमारीको जिउबाट कतै पनि रगत बगेजस्तो र घाउ लागेजस्तो देखिएको थिएन । यस्तोमा डाक्टरहरूको ध्यान राजा, रानी, युवराज र अरू घाइतेतिर जानु स्वतः बुझ्न सकिने कुरा हो ।

खासमा श्रुति सरकारलाई जाँघमा गोली लागेको रहेछ, जो बाहिरबाट हेर्दा देखिएको थिएन । आफ्ना पति गोरखशमशेर राणा गोली लागेर ढलेपछि श्रुति सरकारले छोप्न जाँदा अप्ठ्यारो ठाउँमा लागेको गोलीतिर समयमै कसैको ध्यान पुग्न सकेन । मलाई अहिले पनि सम्झिँदा साह्रै थकथक लाग्छ, डाक्टरहरूले त्यतिवेला प्राथमिकताका साथ हेर्न सकेको भए श्रुति सरकारको ज्यान जाने थिएन कि ! तर, सायद नियतिको खेल अर्कै थियो । श्रुति सरकार आफ्नो चोटभन्दा पनि बुबामुमा बितेको आघातले छटपटिएको र कराइबक्सेको होला भन्ठानेछन् डाक्टरहरूले । अन्ततः मौसुफको प्राणपखेरु उडिहाल्यो ।

नाजुक दिपेन्द्र/तयार ज्ञानेन्द्र

यता कोमामा राखिएका युवराज दीपेन्द्र सरकारको स्वास्थ्य खस्किइरहेको थियो । जुनसुकै वेला निधन हुन सक्ने अवस्था थियो । त्यस्तो अवस्थामा मौसुफपछिका राजगद्दी उत्तराधिकारी एवं तत्कालीन ‘राज्य सहायक’ अधिराजकुमार ज्ञानेन्द्रलाई पूरापूर सुरक्षाका साथ राख्नु हाम्रो कर्तव्य हुन गएको थियो ।‘राजा बिते, राजा अमर रहून्’ भन्ने फ्रान्सेली उखान नै छ ।

वीरेन्द्र सरकार र त्यसपछि दीपेन्द्र सरकारको पालैपालो निधन भए पनि गद्दी खाली राख्न मिल्ने थिएन । त्यसैले तेस्रो राजाको राज्यारोहणका वेला आइहाल्छ भन्ने कुरा सबैले बुझेका थिए । त्यसै सन्दर्भमा ज्ञानेन्द्र सरकारबाट हुकुम भयो, ‘आवश्यक प-यो भने जुनसुकै वेला मलाई फोन गर्नू, म तयारै हुन्छु ।’

कोमामा राखिएका दीपेन्द्र सरकारलाई मैले ढोकैबाट हेरेँ । घ्यारघ्यार सास चलिरहेको थियो, दाह्री बढेर कालो भएको थियो र वेलावेलामा तर्सेर झस्किए जसरी शरीर चलाएको देखिन्थ्यो ।रातदिनको तनाव र अनिद्राबाट थकित भएर म केहीबेर आराम गर्न राति नारायणहिटी दरबारकै क्वार्टरमा फर्किएको थिएँ, दीपेन्द्र सरकारको निधन भएको खबर छाउनी अस्पतालबाट आयो ।

जेठ २२ गते बिहान ३ः४५ बजे मौसुफको स्वर्गारोहण भएको डाक्टरहरूले घोषणा गरेका थिए । मैले तुरुन्त फोन गरेर ज्ञानेन्द्र सरकारलाई जानकारी दिएँ । ‘ठीक छ, म आएँ,’ मौसुफले भनिबक्स्यो । अस्पतालसम्म सवारी चलाउन म आफैँ निर्मलनिवास पुगेँ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।