काठमाडौं– हास्य कलाकारहरुको विशेष दिन हो, गाईजात्रा। आफ्नो प्रहसनको माध्यमबाट दर्शकलाई हँसाउने दिन हो। गाईजात्राको समयमा झन्डै एक सातासम्म स्टेज शो गरेर हास्य कलाकारहरुले दर्शक हँसाउछन्।
पछिल्ला दुई वर्ष भने हास्य कलाकार आफैंलाई ‘रुनु न हाँस्नु’ भएको छ। कारण– कोरोना महामारी। कोरोनाका कारण स्टेज शो बन्द भयो। खचाखच दर्शक भरिने प्रेक्षालयमा माकुराले जालो लाएको छ। स्टेजमा बत्तीको चमकधमक छैन, ठूल्ठूला स्पिकर स्टोरमा थन्किएका छन्।
महामारीका कारण हल बन्द भए पनि कतिपयले भने भर्चुअल माध्यमको प्रयोग गरेर दर्शक हँसाउने प्रयास गरिरहेका छन्। कतिपय हास्यकलार भने गाईजात्रामा पनि ‘बेरोजगार’ बनेका छन्। र, पुराना दिन सम्झिरहेका छन्।
भर्चुअल गाईजात्रामा रुचि नभएका एकजना हास्य कलाकार हुन्, दमन रुपाखेती। भर्चुअल गाईजात्रामा रमाउन नसकेपछि उनी यसपालि खाली नै बसे। उनले अहिलेसम्म कुनै पनि वर्षको गाईजात्रामा खाली बस्नु परेको थिएन। ‘यसपालिको गाईजात्रा त कोरोनाले बिताइहाल्यो नि,’ रुपाखेतीले सुनाए।
रुपाखेतीले जीवनमा कैयौं प्रहसन गरे। राजधानीका सबैजसो मञ्चमा उक्लिए। सबैजसो कलाकारसँग मिलेर आफ्नो प्रस्तुति दिए। सबैजसो नेतालाई आफ्नो कलाकारिता देखाए। दर्शकको ताली पाए, प्रशंसा खाए।
२२ वर्ष अगाडि नेपाल प्रज्ञा प्रतिष्ठानमा देखाएको गाईजात्रा भने निकै अविस्मरणीय छ उनका लागि। किन त?
२०५६ सालको गाईजात्रा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हालको प्रज्ञा प्रतिष्ठान)मा भइरहेको थियो। पहिलो दिनको पहिलो प्रहसन थियो, दमन रुपाखेती, जितु नेपाल र मनोज थापाको। उनीहरुको प्रस्तुतिको ‘थिम’ थियो– पार्टीको चुनाव चिन्ह दर्ता गर्नुपर्ने। प्रहसनका लागि राम्रो तयारी गरेका थिए। राम्रोमात्र हैन, विशेष किसिमकै तयारी गरेका थिए। कारण– त्यस दिनको गाईजात्रा हेर्न तत्कालीन युवराज दीपेन्द्र शाह आउँदै थिए। देशको युवराजका अगाडि प्रहसन देखाउन पाउँदा दंग थिए कलाकारहरु।
तयारीअनुसार नै दमनको टिमले प्रहसन देखायो। ताली पनि बज्यो। कलाकार टोली प्रस्तुति देखाएर स्टेजको पछाडि जाँदैमात्र के थियो, युवराज दीपेन्द्र हलबाट निस्किन लागेको खबर सुनायो कसैले। कलाकारहरुले ड्रेस चेन्ज गर्नसमेत भ्याएका थिएनन्। के गरुँ गरुँ भयो दमन र जितुलाई। कपडा चेन्ज गर्न थालौं युवराजलाई भेट्न नपाइने भो, नगरौं भने प्रहसनको कपडा लगाएर युवराजको अगाडि जान अप्ठ्यारो। जेसुकै होस् भनेर उनीहरु युवराजतिर दौडिए। ‘हामीले कपडा फेर्नै पाएनांै। प्रहसनमा लगाएको लुगासहित मञ्चबाट हामी युवराज दीपेन्द्रको पछाडि दौडियौं,’ दमनले सुनाए।
स्वाभाविक रुपमा युवराज कडा सुरक्षा घेरामा थिए। दमन र जितु नजिक पुग्नै सकेनन्। धन्न ! युवराजसँग आँखाचाहिँ जुध्यो। उनीहरुले टाढैबाट हात जोडेर सोधे– हाम्रो प्रहसन कस्तो लाग्यो सरकार?’
‘तपाईंहरुको राम्रो थियो, राम्रो गर्दै जानुस्। प्रगतिको कामना,’ दीपेन्द्रले टाढैबाट भनेको कुरा अहिले पनि सम्झन्छन् दमन। ‘कलाकारिता गर्ने मान्छेलाई त्यो ठूलो कुरा थियो। युवराजले तारिफ गरिदिएपछि त त्यो दिनकोे गाईजात्रा विशेष बनिहाल्यो नि,’ दमन भन्छन्।
युवराजले तारिफ गरिदिएको हुनाले नै आफूले आजसम्म हास्य कलाकारिताको क्षेत्रमा निरन्तरता दिन सकेको बताउँछन् दमन। भन्छन्, ‘कलाकारलाई यतिको प्रशंसा ठूलो हो। त्यो समय त अहिले खोजेर पनि पाइँदैन। आजका नेता यस किसिमको प्रशंसा गर्न कन्जुस गर्छन्।’
अहिले भइरहेको भर्चुअल हास्यव्यंग्यप्रति उनी खुसी छैनन्। भन्छन्, ‘मञ्चमा हुने कार्यक्रममा दर्शक सिधै जोडिन्थे। दर्शकको ताली लाइभ हेर्न र सुन्न पाइन्थ्यो। कहाँनेर पन्च आयो भन्ने कुरा दर्शकको तालीबाट थाहा हुन्थ्यो कलाकारलाई। भर्चुअलमा त्यस्तो कहाँ !’
भर्चुअल माध्यमबाट देखाइने गाइजात्राले दर्शकको ‘कमेन्ट’ मात्रै बटुल्ने ठान्छन् दमन। भन्छन्, ‘पहिलेको गाईजात्रा दर्शकले वर्षैभरि याद गर्थे। आज प्रविधिको सहारामा हास्यव्यंग्य गर्दा कलाकारले आफूलाई सुधार्ने अवसर पनि पाउँदैनन्। भर्चुअल गाईजात्रा गर्नु भनेको त सिरियलमा हँसाउनु जस्तै हो।’
वर्षमा एकपटक आउने गाईजात्रा कलाकारका लागि उत्सव र अवसर दुवै हो। तर दमन देशमा ३६५ दिन नै गाईजात्रा भइरहेको मान्छन्। त्यसैले अचेल गाईजात्राको ‘क्रेज’ घट्दै गएको उनको ठम्याइ छ। ‘कलाकार हास्यव्यंग्यमार्फत नेतालाई सचेत गराउँथे, उनीहरुलाई खबरदारी गर्थे। मिलेर अगाडि बढ्न शुभकामना दिन्थे। तर अचेल नेताहरु आफैं जनतालाई हँसाइरहेका छन्। गणतन्त्रलाई ‘भाँडतन्त्र’ बनाउँदै लैजाने नेताका कारण गाईजात्राको क्रेज घट्दै गयो,’ उनको निष्कर्ष छ।