नयाँदिल्ली – भारतीय लोकसभा चुनावको नतिजा आउनु भन्दा पहिले नै आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडूले भारतीय जनता पार्टी भाजपा विरोधी मोर्चा बनाउने पहल सुरु गरेका छन्। उनले आइतबार पनि कांग्रेस अध्यक्ष राहुल गांधी र नेशनलिष्ट कांग्रेस पार्टीका प्रमुख शरद पवारसँग भेटघाट गरेका छन्।
शनिबार राजधानी दिल्ली पुगेका नायडू भेटघाटमा व्यस्त छन्। राहुल र पवारसँगै अरविन्द केजरीवाल, भाकपा नेताहरु सुधाकर रेड्डी तथा डी राजासँग राजनीतिक भेटघाट गरेका थिए। उक्त भेटघाटपछि उनले साँझ भारतीय संघको सबैभन्दा ठुलो प्रान्त उत्तर प्रदेशको प्रादेशिक राजधानी लखनऊ पुगेर बहुजन समाजवादी पार्टीकी नेत्री मायावती तथा समाजवादी पार्टीका नेता अखिलेश यादवसँग पनि भेटघाट गरेका छन्। चुनावको नतिजाको निकट हुँदै गर्दा नायडूको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ।
चन्द्रबाबु केही महिना अघि भाजपा सम्मिलित एनडीएमा सामेल थिए। तर, आंध्रप्रदेशलाई विशेष राज्यको दर्जा दिन वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले नमानेपछि असन्तुष्ट भएका नायडू एनडिएको खेमाबाट अलग भएका थिए। त्यसपछि उनी भाजपाविरोधी मोर्चा तयार गर्ने अभियानमा लागेका छन्। उनले तृणमूल पार्टी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी तथा भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरीसँग पनि हालै विकसित राजनीतिक घटनाक्रम बारे भेटघाट गरी आवश्यक छलफल गरेको बताइएको छ।
भारतको लोकसभा ५४५ सिटका लागि भएको मतदान आइतबार सकिएको छ। यसै साता यसको नतिजा आउनेछ । यसले भारतमा नयाँ राजनीतिक समिकरण निर्माण गर्नसक्ने अनुमान गरिएको छ। लोकसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी तथा यसको गठबन्धन खेमाले निकै ठुलो चुनावी धक्का ब्यहोर्ने विज्ञहरु बताउँछन्। केही महिना अघि मात्रै सम्पन्न हिन्दी भाषी एवं हिन्दूधार्मिक बाहुल्यता भएका भारतका ठूला राज्यहरु राजस्थान, मध्य प्रदेश, झारखण्ड लगायतमा विधानसभा निर्वाचनका हारका नतिजाले भाजपालाई नराम्रो सित चोट पुर्याएको छ।
भाजपाले प्रोत्साहित गरेको अतिहिन्दुवादी सोचले सामाजिक एवं साम्प्रदायिक असहिष्णुता बढ्दै गएको अधिकारकर्मीहरु बताउँदै आएका छन्। यसको असर चुनावी परिणाममा प्रतिविम्वित हुने विश्लेषकहरु बताउँछन्। यस निर्वाचनमा सत्ता रुढ दल भाजपालाई स्पष्ट बहुमत प्राप्त नहुने आँकलन गरिएको छ।
संघीय भारतको संविधानमा भारत एक बहुधार्मिक एवं बहुजातिय मुलुक भएको र यो एक धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख छ। त्यसकारण कुनै पनि शर्तमा लोकतान्त्रिक भारतका आम नागरिकले कुनै धर्म या जाती विशेषको एकल आधिपत्य नरुचाउँने प्रष्ट देखिन्छ।संयुक्त प्रगतिशिल गठबन्धन युपीएकी अध्यक्ष सोनिया गान्धिले यही आउँदो मे महिनाको २३ तारिखमा भाजपा विरोधी सम्पूर्ण दलहरुको संयुक्त बैठक डाकेकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४