काठमाडौं - काठमाडौंको याक एन्ड यती होटलमा बसेर गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका १२ भारतीयलाई जस्तोसुकै दबाब आए पनि मुक्त नगर्ने दाबी प्रहरीले गरेको छ।
गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा उनीहरू वैशाख २७ गते पक्राउ परेका थिए। भारतले उनीहरूलाई छोड्न दबाब दिएको समाचार आइरहेका बेला महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले कसैले दबाब दिँदैमा अनुसन्धान र कारबाही प्रभावित नहुने दाबी गरेका हुन्। उनले नेपाल समयसँग भने, ‘गैरकानुनी क्रियाकलाप गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ। कसैको दबाबले प्रहरी अनुसन्धान प्रभावित हुँदैन र अभियुक्त छुट्दैन।’
गैरकानुनी व्यवसाय सञ्चालन गरिरहेको आरोपमा पक्राउ पर्नेमा उत्तर प्रदेश लखनउका अजितकुमार सिंह, इलाहाबादका मोहमद सारजिल, छत्तीसगढका निरजकुमार मिश्र, उत्तर प्रदेशका अशोक कुमार, छत्तीगढका गिरी उपाध्याय छन्। यस्तै उत्तर प्रदेशका रमेश रामा, गुजरातका आयुष उपाध्याय, उत्तर प्रदेशका सुनिल उपाध्याय, कासिफ सकिल, गजेन्द्रकुमार सिंह र नयाँदिल्लीका रसिद नसिम छन्।
उनीहरूलाई छुटाउन परिवारका सदस्यले भारतीय विदेशमन्त्री शुष्मा स्वराजलाई भेटेको समाचार भारतीय सञ्चारमाध्यमबाट आएपछि सुवेदीले दबाबमा अनुसन्धान प्रक्रिया नरोकिने बताएका हुन्। पक्राउ परेका १२ जनाविरुद्ध एक करोड ३३ लाख ठगी गरेको उजुरी परेको छ।
एसएसपी सुवेदीले पीडितको उजुरीका आधारमा पक्राउ परेका १२ जनालाई ठगी र संगठित अपराध मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको छ। संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४