इटहरी - दमक ६ स्थित पूर्वबेलायती गोर्खा सैनिक रामबहादुर लिम्बुको निजी निवासको बैठककोठा भित्तामा एउटा पोस्टर छ। पोस्टरको तल्लो भागमा लेखिएको छ : ‘कायर हुनुभन्दा मर्नु राम्रो हो।’ भिक्टोरिया क्रस पाएका बेलायती गोर्खाहरुको तस्बिरको पोस्टरमा लेखिएको कुरा कुनै एक तस्बिरका लागि राखिएको क्याप्सन मात्रै हैन। यो त भिक्टोरिया क्रस पाएका रामबहादुर लिम्बुको ‘युद्धमन्त्र’ हो।
त्यही युद्धमन्त्रकै कारणले उनी बेलायतको युद्धमा बहादुरी पस्कने महान पदकबाट सम्मानित भए। सन् १९६६ फेबु्रअरी २२ का दिन घोषणा भएको यो पदक सोही वर्षको जुलाई १२ मा पाए लिम्बुले। उनले बेलायती महारानी एलिजावेथ सेकेन्डको हातबाट बकिङ्घम प्यालेस लन्डनमा पदक पाएका थिए। यस्तो पदक पाउने गौरवशाली बेलायती गोर्खा १३ जना मात्रै छन्। बेलायती गोर्खा सैनिक भर्तीको पछिल्ला दुई सय वर्षमा १३ नेपालीले मात्रै पाएको यो पदक पाउने लिम्बु हालका एक्ला जीवत अनुहार हुन्।
यात्रा च्याङ्थापुदेखि बकिङ्घम प्यालेससम्म
हाल याङवरक गाउँपालिका १ मा पर्ने च्याङ्थापुमा १९९२ साउन २१ गते जन्मिएका हुन् लिम्बु। २२ वर्षको उमेरमा गाउँमा आएका ‘गल्ला’ हरुले उनलाई लाहुरे बन्न उत्साहित गरे। लडाकु स्वभावका लिम्बुले आर्थिक अवस्था पनि राम्रो हुने भएकाले बेलायती गोर्खा सैनिक हुन राजी भए। लाहुरे हुने चरणका दिन सम्झँदै लिम्बु भन्छन्, ‘म आफ्नै इच्छाले लाहुर लागेँ। त्यो बेला मसँगै पाँचथरबाट २२ जना भएका थिए तर ७ जना साथी मात्रै छानिए।’
आफूले भैरहवा नजिकको पक्लीहवाबाट बेलायती गोर्खा सैनिक छनौट भएको लिम्बुल बताए। बेलायती गोर्खा सैनिकमा प्रवेश गरेपछि टेन्थ प्रिन्सेस मेरिज ओन गोर्खा राइफल्सको सेकन्ड बटालियनमा जोडिए लिम्बु। सन् १८९० मा निर्माण गरिएको राइफल्स सन् १९६० को दशकमा मलेसियन संकटकाल र इन्डोनेसियन भिडन्तमा सहभागी भएको थियो। १९५७ मा यो राइफल्समा प्रवेश पाएका लिम्बु पनि त्यो बेला मलाया भनिने मलेसियाको संकटकाल र इन्डोनेसियासँगको युद्धमा सहभागी भए। त्यही युद्धमा देखाएको बहादुरीका कारण लिम्बुले भिक्टोरिया क्रस पदक पाए। उनले बेलायती राजतन्त्रको आवासीय र प्रशासनिक क्षेत्र बकिङ्घम प्यालेसमा गएर एलिजावेथ सेकेन्डबाट पदक थापे।
‘पाँचथरको च्याङ्थापुको एउटा केटोले मलायाको युद्धमा बहादुरी देखाएर बेलायती महारानीबाट पदक पाउनु ठूलो कुरा हो’, ८४ वर्षीय लिम्बु भन्छन्, ‘गोर्खाहरु बहादुर हुन्, भिक्टोरिया क्रस पाउनेहरु झनै बहादुर !’
त्यो युद्ध, जसले लिम्बुलाई भिक्टोरिया क्रस दिलायो
आधुनिक मलेसिया बनेको थिएन। मलाया भन्ने ठाउँ थियो। हाल पूर्व मलेसियामा पर्ने नर्थ बोर्नियो र सवारक भन्ने क्षेत्रमा बेलायती शासन थियो। सवारक कसैको अधीनमा थिएन। मलाया र इन्डोनोसियाको बीच भागमा पर्ने सवारकमा इन्डोनेसियाले कब्जा जमाउन सेना पठायो। घना जंगल र सडक क्षेत्र नभएको सवारकमा युद्ध लड्न जंगल छिचोल्दै जानुपर्ने भयो। यसरी जाने बेलायती गोर्खा सैनिकमा एक जना थिए लिम्बु।
सन १९६३ देखि ६६ सम्म सवारकमा भीषण युद्ध भएको र त्यो युद्धमा आफू सहभागी भएको लिम्बु सम्झन्छन। युद्धकै दौरानमा सन् १९६५ को नोभेम्बर २१ मा सवारकमा गस्ती गर्दै थिए लिम्बुसहित ३ जना सैनिक टोली। अचानक दुस्मनसँग जम्काभेट भयो। इन्डोनेसियाली सैनिकले गोली हान्दा एक साथीको टाउकामा गोली लागेर ज्यान गयो। अर्को साथीको शरीरमा गोली लागेर घाइते भए। धमाधम साथीहरु ढल्न थालेपछि बीच भागमा रहेका लिम्बुले ग्रिनेट हाने। सुरुङ खनेर बसेका इन्डोनेसियालीहरु दुई गोर्खालाई गोली हानेर सुरुङमै छिरेछन्। सुरुङको प्वालबाट ग्रिनेट छिर्यो। सबै मरे। ‘मैले ग्रिनेट हानेपछि दुस्मनको गोली आउन छाड्यो’, लिम्बु भन्छन्, ‘त्यसपछि मैले घाइते भएका र मरेका दुवै साथीलाई सुरक्षित स्थानमा लगे।’ तीन जनाको समूहमा आएका लिम्बुले एक साथी गुमाएर ३० जनालाइ मारे। यही बहादुरीका लागि लिम्बुलाई भिक्टोरिया क्रस प्रदान गरियो।
पछि सन् १९६८ मा बेलायतले मलाया छोड्यो। आधुनिक मलेसिया बन्यो। आधनिक मलेसियामा सवारक क्षेत्र मिसियो। मिसिनुमा आफ्नो युद्धकै कारण भएको लिम्बु बताउँछन्। भन्छन्, ‘ब्याटल अफ वाव भनिने सवारक युद्धमा २१ नोभेम्बर १९६५ मा हामीले नजितेको भए आज सवारक इन्डोनेसियाकै हुन्थ्यो होला।’
लिम्बुले पाएका भिक्टोरिया क्रस बाहेकका पदक
२२ वर्षको उमेरमा बेलायती गोर्खा सैनिकमा भर्ना भएका लिम्बुले ३० वर्ष पुग्दा भिक्टोरिया क्रस पदक पाए। ५० वर्षको उमेरमा अवकाश भए। सैनिक भएर बेलायती सेनामा प्रवेश गरेका उनी मानार्थ क्याप्टेन भएर सन् १९८५ सैन्य जीवनबाट अवकाश भए। उनले सैन्य जीवनमा हुँदा भिक्टोरिया क्रसबाहेकका अन्य धेरै पदक पाएका छन्।
सन् १९१८ र १९६२ मा जनरल सर्विस मेडल, सन १९७७ मा क्विन एलिजावेथ सिल्भर जुब्ली मेडल, सन् २००२ मा क्विन एलिजावेथ गोल्डेन जुब्ली मेडल र सन् २०१२ मा क्विन एलिजावेथ डाइमन्ड जुब्ली मेडल पाएका छन् लिम्बुले। यत्तिमात्रै हैन, उनले लामो समय र इमानदार व्यवहार गरेकोमा ‘लंग सर्विस एन्ड गुड कन्डक्ट मेडल’ पनि पाएका छन्। ब्रुनाईको गोर्खा रिजर्ब युनिट सर्विस मेडल र मलेसियाको सर्वोच्च पदक ‘मलेसिया सर्विस मेडल’ पनि लिम्बुले पाएका छन्।
गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सन् १९८५ को ३१ औँ संस्करणदेखि नेपालका कक्षा दसको सामाजिक शिक्षा विषयमा लिम्बुको बहादुरी गाथा लेखिएको छ। यसबाहेक उनलाई दमक, काठमाडाँै र बेलायतका विभिन्न क्षेत्रका सामाजिक तथा सैन्य संस्थाहरुले अभिनन्दन, प्रमाणपत्र र सम्मान गरेका छन्।
समाजसेवामा सक्रिय लिम्बु
चार छोराबुहारी अनि नातिनातिनाको परिवार भएका लिम्बु सैन्य जीवनबाट अवकाश पाएपछि सामाजिक क्षेत्रमा सक्रिय छन्। उनी हरेक दुई वर्षमा बेलायतमा आयोजना हुने भिक्टारिया क्रस पाएकाहरुलाई सम्मान गरिने कार्यक्रममा जानुबाहेक नेपालमै बस्छन् लिम्बु। नेपालमा बस्दा धेरै सामाजिक काममा सक्रिय छन् उनी।
उनले दमकमा किराँत मन्दिर बनाएका छन्। किराँत युमा माङ्हिम नाम रहेको यो मन्दिरले २ कट्ठा बढी क्षेत्रफल ओगटेको छ। त्यहाँ धर्मशाला र सचिवालयसहितका आधुनिक सुविधा छन्। २०५९ सालमा मन्दिर बनाउँदा लागेको लाखौं रुपैयाँ र जग्गा लिम्बुले दिएका हुन्। जन्मथलो पाँचथरको च्याङ्थापु क्षेत्रमा पनि दाजुभाइसँग मिलेर दुई वर्षअगाडि अर्को किराँत युमा माङ्हिम बनाउन लिम्बुको योगदान छ।
जन्मथलो च्याङ्थापुमा एउटा सडक बनाउन पनि लिम्बुले सहयोग गरेका छन्। स्थानीयहरु मिलेर बनाएको उक्त सडकमा लिम्बुले ११ लाख रकम दिएका छन्। यी त केही उदाहरण मात्रै हुन्। यसबाहेक पनि उनले आफ्ना जातीय संस्था, सामाजिक संस्था, धार्मिक संस्था र अन्य विभिन्न व्याक्ति तथा संस्थालाई सहयोग गरेका छन्। भूपू गोर्खा सैनिकका विभिन्न सामाजिक कार्यहरुमा लिम्बुको सहयोग हुँदै आएको छ।
सैन्य जीवनमा दुःख गरेर कमाएको रकम समाजसेवामा राख्दा खुसी लागेको लिम्बु बताउँछन्। ‘अहिले समाजसेवाका नाममा कालो धन प्रयोग गर्नेहरु धेरै भएको सुन्छु’, लिम्बु भन्छन्, ‘मैले आफूले खुनपसिना गरेर कमाएको सेतो धनबाटै समाजसेवा गर्न पाएर खुसी छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४