शनिबार, साउन २३, २०८३

पर्सामा फेरी मौलायो गाँजा तस्करी, यसरी चल्छ सेटिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- मकवानपुरमा उत्पादन गरिएको गाँजा र चरेश अवैधरुपमा भण्डारण र ओसारपसार गर्ने कार्यमा तस्कर समूह पुनः सकृय भएका छन् । भारतीय बजारमा महँगो मूल्यमा बिक्री हुने भएकोले अवैध कमाईको लोभमा तस्करीमा संलग्नको ठूलो समूह रहेको छ ।

जङ्गल क्षेत्रको बस्तीमा गाँजा चरेस भण्डारण गरेर मोटरसाइकल र जीपमा ढुवानी गरेर सीमावर्ती भारतीय बजारमा पुर्याउँछन्  ।  गाँजा र चरेश ओसार्ने भरियालाई पारिश्रमिकवापत चार हजार रुपैयाँसम्म कमाई हुने भएकोले कमजोर आर्थिक अवस्थाका सहनी, माझी समुदायका मानिसको संलग्नता बढी हुने गरेको छ । 

स्थानीयका अनुसार यहाँको बजारमा १५ हजार रुपैयाँमा खरिद बिक्री हुने गाँजा भारतीय बजारमा २० हजार‌ भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । 

गाँजाको ओसारपसारमा सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको पटेर्वासुगौली गाउँपालिकामा गाँजा तस्करी सकृय रहेका छन् ।सम्बध श्रोतका अनुसार मकवानपुरको मनहरीबाट खरिद गरिएको गाँजा भरियालाई बोकाएर रातको समयमा निकुञ्जको बाटो हुँदै पर्सा जिल्लामा ल्याइ पुर्याउछन् । 

गाँजा केही दिन भण्डारण पछि पुनः रातको समयमा भरिया, मोटरसाइकल र जीपमा ढुवानी गरेर भारतसँग सीमा जोडिएको गाउँमा भण्डारण हुन्छ । वा सिधै सीमापारी पुर्याइन्छ । तस्करीमा सीमा सुरक्षा को लागी खटिने भारतीय अर्द्ध सैनिक बलको समेत संलग्नता रहने गरेको छ ।

गाँजा कारोबार गलत हो भन्ने कुरा गाउँलेले बुझेका छन्,उत्तरी क्षेत्रको एक गाउँपालिकाका अध्यक्षले आफ्नो नाम उल्लेख नगर्ने अनुरोध गर्दै भने, यो काम नगर भन्दा आफैं अप्ठेरोमा परिने अवस्था छ, प्रहरी पनि उदासिन छ ।

गाँजा खेती र कारोबार पुनः फैलिंदै जाँदा अवैध हतियारको कारोबार र भण्डारण समेत बढ्न थालेको छ । गाँजा ओसारपसारमा सुरक्षा प्रदान गर्ने समूहले केही हतियार जंगलमै सुरक्षित रुपमा लुकाएर राख्छन्,देउरवानाका एक व्यापारीले भने, केही हतियार गाँजा भण्डारण गरिएको क्षेत्रमा राखिएको हुन्छ ।

भरियामार्फत गाँजा ओसारपसारको क्रममा सुरक्षाको लागी तस्करले अवैध हतियारको प्रयोग गर्दै आएका छन् । एउटा समूहलाई अर्को समूहले गाँजा लुट्ने वा कहिलेकाहीँ प्रहरीसँग आमनेसामने हुने संभावना भएकोले हतियारको प्रयोग अनिवार्य हुने गरेको छ ।

प्रहरी संरक्षणमा गाँजा र चरेशको कारोबार बढ्दै गएको भन्दै चर्को आलोचना भएपछि पर्सा र बारामा प्रहरीले गाँजा तस्करविरुद्ध एकै दिन कारवाही गरेको छ ।

सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले शुक्रबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर ५ देउरिया टोलमा प्रहरीले स्थानीयको घरमा छापामारी गरेर २ सय ६८ किलो गाँजा र  ७ किलो चरेश र चरेश बनाउन प्रयोग हुने धुलो ६२ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।गाँजा च्याप्न प्रयोग हुने हाते मेशिनसमेत बरामद भएको उनले बताए।

यसअघि गत १० वैशाखमा पटेर्वा सुगौली गाउँपालिका-१ बाट स्थानीय ३९ वर्षीय उमेश सहनीलाई करिब ७० किलो गाँजा र जरायोको सिङ १ थान सहित प्रहरीले पक्राउ गरेको थियो वीरगंज महानगरपालिका-१२ मुरलीबाट करिब १० किलो चरेश बरामद भएको थियो ।

यसैगरी लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका वडा नं. ८ लगंडाचोकबाट ३४ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारागढी गा।पा।वडा नं. ३ खोपवाका ४० वर्षिय रामएकवाल चौधरी र  करैयामाई गा।पा।वडा नं. ४ बस्ने ५० वर्षिय हरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रंजित सिंह राठौरले जानकारी दिए।

प्रहरीले नै बन्द गराएको थियो खेती

२०६७ सालमा तत्कालीन प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले गाँजा उत्पादन र कारोबारको गढ मानिदै आएको पर्सा जिल्लालाई गाँजा खेती शुन्य जिल्लामा रुपान्तरण गर्न सफलता पाएका थिए ।

तर अहिले पुनः गाँजा खेती र ओसारपसार दुबै उल्लेखनीयरुपमा वृद्धि भएको छ । पर्सा, बारा, सर्लाही र मकवानपुरमा प्रहरीले गत चैत महिनायता बरामद गरेको गाँजा र चरेसको परिमाणले पनि यसलाई पुष्टी गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।