काठमाडौं – राष्ट्र र जनताको हितमा राज्यलाई केन्द्रित तुल्याउन दबाब पैदा गर्ने मूल उद्देश्यका साथ ‘मातृभूमिका लागि नेपाली’ नामक नागरिक समूहको औपचारिक महाभेला काठमाडौंमा सुरु भएको छ।
शनिबार काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको महाभेलाले मुलुकमा पटक–पटक भएका राजनीतिक परिवर्तनले देशको सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने परिणाममुखी कार्य गर्न नसकेको भन्दै जनस्तरबाट सङ्गठित दबाब दिन सुरु गरिएको बताइएको छ।
देशका पक्षमा जागरण पैदा गर्ने तथा नेतृत्वलाई जनता र देशको हितमा कार्यरत रहन दबाबको स्थिति बनाउने उद्देश्यले विभिन्न क्षेत्रका सचेत नागरिकहरू स्वस्फूर्त रूपमा भेलामा सहभागी भएका भेलाका संयोजक देवप्रकाश त्रिपाठीले बताए। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आआफ्नो विचार राखिरहेको छन्।
महाभेलाले ‘मातृभूमिका लागि नेपाली’ अभियानलाई उद्देश्यकेन्द्रित रूपमा अघि बढाउन केन्द्रीय तहको एक समिति गठन गर्नुका साथै विभिन्न जिल्ला एवम् प्रवास संयोजकहरू समेत चयन गर्ने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४