काठमाडौं – आज २५६३ औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मेका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए। ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए।
भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन्।
यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि पर्दछन्।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४