काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाली सेनालाई राजनीतिक प्रभावमा राख्ने अभिप्रायकासाथ ल्याइएको राष्ट्रिय सुरक्षा विधेयक फिर्ता गर्न माग गरेको छ। सेनामाथि राजनीति गर्ने सरकारको प्रयासको निन्दा गर्दै विधेयक फिर्ता नभए यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएको छ। विधेयकबाट नेपाली सेनालाई प्रत्यक्ष चलाउन सक्ने अधिकार प्रधानमन्त्रीलाई दिन खोजिएको तथा अन्य अधिकार केन्द्रीत गर्न खोजिएको राजपाको ठहर छ।
अध्यक्ष मण्डल बैठकले विवादित तीनवटै विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिल सम्बन्धी विधेयक र राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक फिर्ता लिन राजपाले आग्रह गरेको छ।
बिहीबारदेखि जारी राजपाको अध्यक्ष मण्डलको बैठकमा विवादित तीनवटै विधेयकमाथि छलफल भएको अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए। भण्डारीका अनुसार मानव अधिकारलाई कन्ठित गर्ने गरी सरकारले विधेयक ल्याएकोले तत्कालै फिर्ता लिनु पर्ने हुन्छ।
मिडिया काउन्सिल सम्बन्धी विधेयक सम्पूर्ण सञ्चार जगतलाई नियन्त्रण गर्न दुई तिहाईको सरकारले ल्याएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णयमा पुगेको भण्डारीले बताए। अध्यक्ष मण्डलको बैठकबाट तीनवटै विवादित विधेयक फिर्ता लिन आग्रह गरिएको भण्डारीले बताए। सरकारले विधेयकहरु तत्कालै फिर्ता नलिए भयवाह अवस्था सिर्जना हुन सक्ने भण्डारीले चेतावनी दिए। उनले त्यस्तो अवस्था सिर्जना भए सरकार नै जिम्मेवार हुने बताए।
यसैबीच, शुक्रबार विज्ञप्ति जारी गर्दै राजपाले स्वतन्त्र तिब्त सम्बन्धी कार्यक्रममा आफ्ना सांसद विदेश गएको भन्ने बारे जानकारी नभएको स्पष्ट पारेको छ। केही दिनअघि स्वतन्त्र तीब्त सम्बन्धी कार्यक्रममा राजपाका सांसद एकवाल मियाँ तथा समाजवादी पार्टीका सांसद प्रदिप यादव पुगेका थिए। उक्त विषयमा चीनले चासो व्यक्त गरेपछि राजपाले आफ्नो सांसद त्यस्तो कार्यक्रममा सहभागी भएको बारे जानकारी नभएको प्रतिक्रिया दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४