शनिबार, साउन २३, २०८३

दासढुंगा हत्याकाण्ड : नेतृत्वले जबाफ दिएको खोइ त ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

म त्यति बेला अखिलको केन्द्रीय सचिव थिएँ। सम्भवतः जेठ १ र २ गते अनेरास्ववियु स्याङ्जाको जिल्ला अधिवेशन थियो। म अधिवेशन उद्घाटन गर्न गएको थिएँ। मदन भण्डारीको कार्यक्रम पनि जेठ ३ गते पोखराको दीपेन्द्र सभागृहमा थियो। अधिवेशन उद्घाटन सकेर फर्कंदा पोखराको त्यो कार्यक्रममा पुगेँ। अलिअलि पानी परेको थियो। हामी पुग्दा उहाँले आफ्नो भाषण सक्न आँट्नुभएको थियो। सकेपछि उहाँ बाहिर निस्कनुभयो। हामीले अभिवादन गर्‍यौँ। हामीलाई उहाँले आजै फर्कन लागेको भन्नुभयो। दुर्भाग्य ! भण्डारीसँगको भेट त्यही अन्तिम बन्न पुग्यो।

उहाँ चितवनतिर लाग्नुभयो। हामी पनि आफू बस्ने ठाउँतिर गयौं। अहिलेको जस्तो होटल–लजमा बस्ने चलन थिएन। हामी होस्टलमै बस्थ्यौं। पोखरा गएका बेला म पिएन (पृथ्वीनारायण) क्याम्पसको होस्टलमा बस्थेँ। खाना खाएर बस्न लाग्दा मदन–आश्रित चढेको गाडी खस्यो भनेर खबर आयो। अहिले जस्तो एफएम रेडियो केही थिएन। म, रवीन्द्र अधिकारी र रामनाथ ढकाललगायत साथीहरु सँगै थियौँ।

भण्डारी चढेको गाडी खसेको खबर सुनेपछि हामी एकदमै विक्षिप्त अवस्थामा पुग्यौँ। अनेक ठाउँमा सोधपुछ गर्न थाल्यौं। के गर्ने कसो गर्ने भन्ने तनावमा पर्‍यौं। रातको समय थियो। गाडी चल्दैनथ्यो। बिहानको पहिलो गाडीमा जाने तय गर्‍यौं। त्यसपछि ४ गते बिहान फर्कियौँ। मुङलिन झरेर दासढुंगातर्फ जान लाग्दा त्यहाँ खोजतलास जारी छ भन्ने थाहा पायौं। त्यसपछि काठमाडौं गएर थप सूचना लिन सकिन्छ भन्ने लागेर हामी काठमाडौँ लाग्यौं। पार्टी कार्यालयमा पुगेर थप सूचना लिएर मसहित केही साथीहरु घटनास्थालतर्फ लाग्यौँ। हामी दासढुंगा पुग्दा ठूलो भीड थियो। अनेक खालका शंका थिए। त्यो दिन रात पर्‍यो। हामी फेरि काठमाडौँ फर्कियौँ।

चितवनका हाम्रा साथीहरुले प्रहरी प्रशासनमार्फत खोजतलास तीव्र बनाए। गोताखोरसमेत परिचालन गरियो। उहाँहरू चढ्नुभएको गाडी जहाँबाट पल्टिएको त्यहीँ थियो। तर उहाँहरुको अवस्था पत्ता लागेको थिएन। तीनचार दिन खोजेपछि चितवनको धेरै तल शव भेटियो भन्ने खबर आयो। शव चितवनको पार्टी कार्यालयमा राखेर काठमाडौँ ल्याइयो। त्यसपछि दशरथ रंगशालामा राखियो। देशभर सबै शोकाकुल बनेका थिए। त्यो घटनाले एमालेले लिएको वैचारिक धार के हुने हो भनेर अनेक आशंका उब्जिएका थिए। 

यस्तो अवस्थामा देशभरका साथीहरुले नेताहरुको शवमा फूल चढाउने इच्छा प्रकट गर्नुभयो। त्यसकारण उहाँहरुको शव केही दिन रंगशालामा राखियो। जिल्लाजिल्लाबाट आउन यातायातको सहजता थिएन। हिँडेर पनि साथीहरु आउनुभयो। लाखौं मानिसले उहाँहरूलाई श्रद्धाञ्जलि दिनुभयो। हाम्रो भाइचारा सम्बन्ध भएको विभिन्न देशका कम्युनिस्ट पार्टीका नेताहरु पनि आएर श्रद्धाञ्जलि दिनुभयो।

यो घटनाको न्यायिक छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्‍यो भनेर आन्दोलनको अगुवाइ गर्ने प्रमुख संगठन अनेरास्ववियु थियो। संगठनको सचिवका नाताले मेरो पनि प्रमुख भूमिका रहने नै भयो। सुरुदेखि नै हाम्रो निष्कर्ष र मानसिकता थियो यो सामान्य घटना होइन। यो सुनियोजित घटना हो। हामीले त्यसलाई दासढुंगा हत्याकाण्ड नै भन्यौँ। त्यसको सत्यतथ्य सबै बाहिर आएको छैन। आज पनि त्यसलाई फर्केर हेर्दा त्यो सामान्य घटना थिएन, हत्याकाण्ड नै थियो। 

हामी हत्याकाण्ड हो भन्ने निष्कर्षमा पुगेपछि पार्टी पनि त्यही निष्कर्षमा पुग्यो। त्यसपछि हामी सडकमा उत्रियौँ। यसको छानबिन होस् भन्यौं। पार्टीले अहिलेका अध्यक्ष केपी ओलीको संयोजकत्वमा छानबिन समिति बनायो। अनेरास्ववियुबाट पनि एउटा छानबिन समिति बनाएर विभिन्न चरणमा सूचना लिने काम गर्‍यौं। त्यस्तै सरकारका तर्फबाट पनि समिति बन्यो। हाम्रो तहबाट बनाइएका समितिबाट प्राविधिक हिसाबमा पर्याप्त स्रोतसाधन र जनशशक्ति अभाव थियो।



त्यसबेला नेपालमा जनताको लोकप्रिय मतबाट कम्युनिस्ट आन्दोलन अगाडि आइरहेको थियो। सोभियत संघ विघटन भएको थियो। पूर्वी युरोपबाट कम्युनिस्टहरु सत्ताबाट बाहिरिइरहेका थिए। विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा धकेलिएको थियो। हाम्रो छिमेकी मुलुक भारतलगायत दक्षिण एसियामा पनि यस्तै अवस्था थियो। यस्तो प्रतिकूलत अवस्थामा पनि २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले निर्वाह गरेको भूमिका, महाधिवेशनले पास गरेका सैद्धान्तिक मान्यता, विशेष गरी चौथो महाधिवेशनले पास गरेको आन्दोलनपछि गठन हुने सरकार पनि बहुदलीय प्रतिस्पर्धाबाट हुन्छ भन्ने जुन मान्यता अगाडि सार्‍यो त्यसलाई विकसित गर्दै मदन भण्डारीले एउटा सिद्धान्त अगाडि सार्नुभयो त्यो एउटा महत्त्वपूर्ण कुरा थियो। 

एकअर्कालाई शत्रु ठान्ने कांग्रेस र कम्युनिस्ट दुवै मिलेर ०४६ सालमा आन्दोलन गरे। यी दुईलाई मिलाउन पुष्पलालले पनि सफलता हासिल गरेका थिएनन्। यस्तो अवस्थामा नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको थियो र मदन भण्डारी जस्ता जननेताको उदय भएको थियो। यसमा देशभित्र र बाहिरका शक्तिलाई चित्त बुझेको थिएन।

मदन भण्डारीले लोकतान्त्रिक र देशभक्ति आन्दोलनलाई अगाडि बढाउनुभयो। टनकपुर सन्धिको विरोधमा उहाँको नेतृत्वमा देशभर अभियान चल्यो। त्यसलाई उहाँले र उहाँ नेतृत्वको पार्टीले संसद्मा जोडसाथ उठाउने काम गर्‍यो। त्यसरी उहाँ देशभक्त नेताका रूपमा उदाउनुभयो। यो कुरा कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुलाई चित्त बुझेको थिएन। त्यसैले यही पृष्ठभूमिमा मदन भण्डारीको हत्याको षड्यन्त्र रचिएको थियो।

मदन भण्डारीको हत्यापछि पार्टीले पटकपटक सरकारको नेतृत्व गर्ने मौका पाएको छ। तर हत्या भएको २५ वर्ष बितिसक्दा पनि यसबारे सत्यतथ्य बाहिर आएको छैन। यस विषयमा हामीले पार्टीभित्र पटकपटक प्रश्न उठाउँदै आएका छौं। राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत राज्यका सारा संयन्त्र हामीसँग भएका बेला यसलाई सत्यतथ्य किन बाहिर ल्याउन सकेका छैनौं ? आज म जुन तहमा छु, त्यो हिसाबले म यसबारे कुनै जबाफ दिन सक्दिनँ। यसको जबाफ पार्टीका प्रमुख नेताहरुले दिनुपर्छ। जो राज्यका निकायको पटकपटक प्रमुख हुनुभएको छ। 

कतिपय गोपनीयताका कुरा होलान्, सूचनाका कुरा होलान् व्यक्तिको गोपनीयताका कुरा होलान् त्यो हामीलाई पनि बताउनुभएको छैन। समयक्रममा यस्ता कुरा उद्घाटित हुँदै जानेछन्। यसका दोषी पनि पत्ता लाग्दै जानेछन्। घटनाका साक्षी गाडीका चालक अमर लामा थिए। उनको हत्या भएको छ। त्यसले यो घटनालाई अझै सन्दिग्ध बनाएको छ। विज्ञान तथा प्रविधिको युगमा धेरै असम्भव कुरा सम्भव बनिरहेका छन्। त्यसकारण यो हत्याकाण्डको एक दिन पर्दाफास हुनेछ।

(नेकपा स्थायी समिति सदस्य भट्टराईसँग कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।