वीरगंज – पर्साको जीराभवानीपुरमा आफ्नै भाइले प्रहार गरेको गोलीबाट गम्भीर घाइते भएका स्थानीय शेष फारुकको शुक्रबार बिहान ज्यान गएको छ।
जीराभवानीपुर गाउँपालिका वडा नम्बर १ बलुवानिवासी शेष सेरामुद्दिनले बिहीबार साँझ घरायसी विवादमा गोली प्रहार गर्दा ४८ वर्षीय फारुक गम्भीर घाइते भएका थिए। घाइते फारुकको दाहिने पाखुरा छेडेर छातिमुनि गोली पसेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो।
घाइते फारुकलाई प्रहरीले सुरुमा सदरमुकामस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याए पनि उपचार हुन नसक्ने भन्दै चिकित्सकले फिर्ता पठाएपछि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो। शिक्षण अस्पतालले अत्याधिक रक्तश्रावको कारण घाइतेको अवस्था चिन्ताजनक रहेकोले त्रिवि शिक्षण अस्पताल लैजान सुझाव दिएपछि काठमाडौं लैजाने क्रममा बिहीबार राती बाटोमै फारुकको निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
गोली प्रहार गर्ने शेष सेरामुद्दिनलाई १ थान कटुवा पेस्तोल, ३ वटा गोली र १ वटा प्रयोग भइसकेको गोलीको खोलसहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्त राम शर्माले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४