काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला काठमाडौंमा आराम गर्दैछन्। हालै दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफन्तको जन्मदिन मनाउन पूर्वराजा शाह परिवारसहित पुगेको तस्बिर सार्वजनिक भएको थियो।
फागुन २९ गतेदेखि करिब एक साता मधेस यात्रा गरेका पूर्वराजा शाहले पूर्वी पहाडी जिल्लाको समेत यात्रा गरेका थिए। उक्त यात्रा सकेपछि पूर्वराजा केही दिन झापाको आफ्नो निजी चिया बगानमा बसेर काठमाडौं फर्केका हुन्।
माघमा मधेश झरेका पूर्वराजा शाह बाराको सिमरा हुँदै झापासम्म पुगेका थिए। उनले करिब दुई महिनासम्म मधेसमा बिताएका थिए। उनले फागुन २९ देखि चैतको पहिलो सातासम्म प्रदेश २ का प्रमुख मन्दिरमा दर्शन गरेका थिए। सर्लाहीको दुर्गा मन्दिर, जनकपुरको जानकी मन्दिर, उदयपुरको राधाकृष्ण मन्दिर र सप्तरीको छिन्नमस्ताको दर्शन गर्न पूर्वराजा शाह पुगेका थिए।
उनी मधेस यात्रा गर्दा अथवा मन्दिर दर्शन गर्न जाँदा उनको समर्थनमा सर्वसाधारणसहित राजावादीको ठूलो भीड लाग्ने गरेको थियो। समर्थक संख्या देखेर पूर्वराजा उत्साहित भएका थिए। पूर्वराजाको मधेस यात्रालाई राजनीतिक सक्रियताका रुपमा लिइएको थियो। अन्य प्रदेशको तुलनामा राजनीतिक रुपले अस्थिर प्रदेश २ नै छ। जसलाई पूर्वराजाले आफ्नो प्रभावको परीक्षण क्षेत्रका रूपमा प्रयोग गरेको कतिपय विश्लेषकहरु बताउँछन्।
पूर्वराजाको प्रदेश २ को भ्रमणलाई शुभसंकेतका रुपमा पूर्वराजदरबारले लिएको छ। राजनीतिक दलबाट निराश बनेका सर्वसाधारणको एउटा तप्कालाई पूर्वराजाको भ्रमणले उत्साहित बनाएको थियो।
राजनीतिक सक्रियता खोजेको हो?
पूर्वराजा शाह राजनीतिक रुपमै सक्रिय हुन खोजेका देखिँदैनन्। बरु उनले आफ्ना समर्थकको संख्या बढाउन चाहेका छन्। उनले आफूलाई जनताको दृश्यमा कायम राख्न खोजेको देखिन्छ।
पूर्वराजा शाहको सक्रियता बढ्ता राजावादी दलहरुको सक्रियता पनि बढ्ने गरेको छ। तर, पूर्वराजा शाहले ती दलका कार्यक्रम अथवा सभामा सहभागी हुँदैनन्। उनी निकट मानिएका राजनीतिक दलहरुबीच सहकार्य गराउने प्रयास पछिल्लो पटक भएको छ। केही महिनाअघि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा राजावादी दल तथा संगठनहरु एकीकृत हुने घोषणा गरेका थिए। जुन बेला पूर्वराजा शाह पूर्वी मधेसमा थिए।
कमल थापा नेतृत्वको राप्रपाले पनि सक्रियता देखाएको थियो। तर, पूर्वराजा शाह काठमाडौं फर्किने बित्तिकै राजावादीहरुको सक्रियता शिथिल भएको छ। पूर्वराजा शाहको मधेस भ्रमणलाई नजिकबाट नियालेका जनकपुरधामका प्राध्यापक परमेश्वर कापडीले पूर्वराजा शाह जनतामाझ चर्चामा आइरहन खोजेको बताउँछन्।
उनका अनुसार पूर्वराजा शाह प्रत्यक्ष राजनीतिमा नआए पनि उनी शक्ति केन्द्रका रुपमा स्थापित हुन खोजेका छन्। राजनीतिक दलहरुबाट जनता टाँढिदै जाने हो भने केही समयपछि राजा फर्काउने प्रयास हुन सक्ने उनको बुझाइ छ।
भारतको चुनावपछि के होला?
मधेस भ्रमणपछि पूर्वराजा शाह भारत भ्रमणको तयारीमा थिए। परिवारसहित दार्जलिङ हुँदै भारतका विभिन्न स्थानमा जाने उनको योजना थियो । उनको त्यो भ्रमणको पछाडि राजनीतिक सम्बन्ध पनि हुन सक्ने आंकलन गरिएको थियो।
भारतमा लोकसभा चुनाव सुरु भएपछि पूर्वराजा शाहको यात्रा रोकिएको छ। स्रोतका अनुसार भारतको चुनाव सकिएलगत्तै पूर्वराजा शाह भारतको भ्रमण गर्नेछन्। भारतको राजनीतिक समीकरणले पनि पूर्वराजा शाहको आगामी योजनामाथि प्रभाव पर्ने सम्भावना छ। भारतको चुनावबाट पूर्वराजा शाहको अनुकूल राजनीतिक समीकरण बनेको खण्डमा पूर्वराजा शाह थप सक्रिय हुने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४