काठमाडौं - प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा पत्रकारहरुलाई बारम्बार रोक लगाउने गरिएको छ। समाचार संकलनमा पुगेका पत्रकारहरुलाई सभापति शशी श्रेष्ठको निर्देशनमा रोक लगाउने गरिएको हो। बिहीबार पनि समितिको बैठकमा संघीय निजामती सेवाको गठनरसञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको थियो। जसको समाचार संकलनमा रोक लगाइएको थियो। उक्त घटनाप्रति संसदीय मामिला पत्रकार समाजले गम्भीर ध्यानाकर्षण गराएको छ।
खुला अवधारणामा आधारित मिनी संसद्को सार्वजनिक चासोको विषयमा आमसञ्चार माध्यमलाई सूचना संकलनमा निषेध गरिनु संविधानप्रदत्त आमसञ्चारको हकलाई संकुचित गर्ने नियत समितिमा देखिएको समाजको ठहर छ। समाजले भनेको छ, 'संविधानले तोकेका आमसञ्चारको सीमाप्रति सञ्चारजगत् सदैव सचेत छ। तर, प्रचलित कानुन र नियमावलीले निषेध नगरेको आम सरोकारका विषयमा पटक-पटक सूचना संकलनमा रोक लगाउने समितिको कदमप्रति समाज खेद व्यक्त गर्दछ।'
प्रचलित कानुनले प्रकाशन प्रसारणमा निषेध नगरेको सार्वजनिक सरोकारका कुनै पनि विषयमा अनावश्यक रुपमा सूचना संकलनमा बाधा नपुर्याउन समाजले समिति र संघीय संसद सचिवालयको ध्यानाकर्षण गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४