भैरहवा - डेढ दशकभन्दा बढीको पर्खाइपछि विशेष आर्थिक क्षेत्र (सेज) मा एउटा उद्योग सञ्चालनमा आएको छ। भैरहवास्थित सेजमा शक्ति मिनरल्स प्रालि सञ्चालनमा आएको हो। सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘१६ वर्षदेखिको प्रयासले बल्ल सार्थकता पाएको छ। अब उद्योग सञ्चालनको गतिले निरन्तरता पाउनेछ।’
४० करोड लगानीमा सञ्चालित उक्त उद्योगले चुनढुंगा प्रशोधन गरेर भारत निर्यात गर्ने योजना बनाएको छ। उद्योगका सञ्चालक विनोदकुमार श्रेष्ठका अनुसार उक्त उद्योगले वार्षिक २० करोड बराबरको चुनढुंगा पाउडर भारत निर्यात गर्ने लक्ष्य लिएको छ। उद्योगमा १ सय ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
सरकारले २०६० मा सेजको लागि कर्मचारी र विभिन्न समिति तथा प्राधिकरण बनाई कार्य थालेको थियो। त्यसपछि बल्ल २०७१ मंसिरमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले भैरहवा सेजको उद्घाटन गरेका थिए।
वातावरणको चिन्ता
सेजमा उद्योग सञ्चालन भइरहँदा त्यसले पार्ने वातवरणीय प्रभावबारे चासो नदेखाइएको भन्दै चिन्ता व्यक्त गरिएको छ। रोहिणी गाउँपालिकाका १ का अध्यक्ष अबिद अलि पठानले उद्योगबाट निस्कने धुलो र धुवाँको कणले गर्दा नजिकै रहेको मानव बस्तीलाई ठूलो समस्या पारिरहेको बताए। उद्योगको उद्घाटनसत्रको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पनि उद्योगले वातावरणीय प्रदूषण न्यूनीकरणका लागि तत्काल काम गरिहाल्नुपर्ने बताए।
के हो त विशेष आर्थिक क्षेत्र (सेज)
६९ वटा प्लट रहेको भैरहवा सेजमा स्थापना हुने उद्योगले उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नैपर्ने प्रावधान छ। यस्ता उद्योगलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ। विश्वमा सन् १९८० मा पहिलोपटक चीनको सेन्जेन, झुहवाई, सान्तनवा र झिम्यानमा विशेष आर्थिक क्षेत्र सञ्चालन भएको थियो। विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार प्रदेश १ मा विराटनगर, २ मा सिमरा, ४ मा पाँचखाल, गण्डकीमा गोरखा, प्रदेश ५ मा भैरहवा, कर्णालीमा जुम्ला र सुदूरपश्चिममा धनगढीमा सेज निर्माण गर्ने लक्ष्य छ। चीनबाट १९८० मा सुरु भएको सेज पूर्वी एसियाका ताइवान, दक्षिण कोरिया, भारत हुँदै नेपालमा आएको हो।
विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई सरकारले विशेष सुविधा दिनेगरी ऐन बनाएको छ। आयकरमा पहिलो ५ वर्ष सम्म सय प्रतिशत छुटको व्यवस्था गरिएको छ। स्वदेशी कच्चा पदार्थ कम्तीमा ६० प्रतिशत प्रयोग गर्ने उद्योगलाई पहिलो ५ वर्षपछि पुनः १० वर्ष सम्म ५० प्रतिशत आयकर छुट र अन्य उद्योगलाई ५ वर्ष सम्म ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ।
हिमाली र पहाडी जिल्लामा पहिलो ५ वर्ष सय प्रतिशत र त्यसपछि १० वर्ष सम्म ५० प्रतिशत छुट व्यवस्था छ भने लाभांस रकममा पहिलो ५ वर्ष सम्म १०० प्रतिशत छुट र त्यसपछि ३ वर्ष सम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सेजमा स्थापना भएका उद्योगमा मजदुरहरुले बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरिएको छ।
