काठमाडौं - साहसिक आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ बजेर ५० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेका आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए।
लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैंले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन्। कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन्।
कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए। सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए। बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए।
यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४