काठमाडौं - नेकपा अध्यक्ष पुष्ढपकमल दाहालले बुधबार चार बजे चिनियाँ राजदूतलाई भेट्ने समय दिएका थिए। तर राजदूत उनको निवास खुमलटारमा पुग्दा प्रचण्ड थिएनन्। उनी युवा संघ नेपालको २९ औं स्थापना दिवस मनाउन राष्ट्रिय सभागृहमा प्रमुख अतिथि थिए। प्रमुख अतिथि भएपछि अन्तिममा बोल्ने परम्परा नयाँ होइन।
कार्यक्रम चलिरहँदा आफ्नै निवासबाट प्रचण्डलाई फोन आयो। फोनमा चिनियाँ राजदूत निवासमा आएको जानकारी आएपछि प्रचण्ड झसंग भए। ‘मैले ४ बजे चिनियाँ राजदूतलाई भेट्ने समय दिएको थिएँ। अहिले म यहाँ छु। उहाँ मेरो निवास खुमलटार पुगिसक्नु भएछ। भन्न त मैले सरी भन्दै चिया ख्वाएर राख्नु भनें तर मेरो दिमाग नै गोलमाल भएको छ’, कार्यक्रममा उनले भने।
उनले आफू पनि युवा संघको संस्थापक अध्यक्ष र अर्का अध्यक्ष केपी ओली पनि संस्थापक अध्यक्ष भएको भन्दै एउटा सुखान्त संयोग भएको बताए। उनले पहिला जस्तो मेरो विचार ठिक तेरो बेठिक भन्न मानसिकता राखेको भए दुई पार्टी एकीकरण हुन नसक्ने बताए। ‘हामीले मेरो मात्र विचार ठिक भनेर माथापच्ची गरेनौं त्यसै कारण पार्टी एकता भयो’, उनले भने।
आफूलाई बेलाबेला अस्थिर भनेर गरिएको टिप्पणीको प्रचण्डले कडा प्रतिवाद गरे। ‘माधवजीलाई छापामार शैलीमा प्रधानमन्त्री बनाइयो। पछि सुशील कोइरालालाई पनि बनाइयो। त्यसपछि आमचुनावअघि नै तपाईं प्रधानमन्त्री हो भनेर केपी ओलीलाई भनेको हो अब तपाईहरु मलाई के भन्नुहुन्छ’, प्रचण्डले भने। उनले भने, ‘तत्कालीन एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने म कसरी अस्थिर भएँ ?’
वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीले दुई तिहाइ मत प्राप्त नगरेको दाबी गरे। उनले भने, नेकपाले गएको चुनावमा ५५ प्रतिशत मत मात्र पाएको हो। दुई तिहाइ होइन, यसका लागि अझै जनताको विश्वास जित्ने काम गर्नुपर्छ’, नेपालले भने।
नेता झलनाथ खनालले अहिले पूर्ण लोकतन्त्र नआएको बताए। ‘अहिलेको लोकतन्त्र पुँजीवादी हो, समाजवादी लोकतन्त्र आएपछि मात्र यसले पूर्णता पाउँछ’, खनालले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४