काठमाडौं - उद्योग विभागका कर्मचारीको सरुवाको विषयमा विवाद हुँदा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा हात हालाहाल भएको छ। उद्योग विभागको कर्मचारी सरुवामा मन्त्रालयबाट चलखेल भएको भन्दै कांग्रेस निकट कर्मचारीहरु मन्त्रालय पुगेका थिए।
उनीहरुले मन्त्री मातृका यादवका सचिव प्रेमप्रसाद आर्चायलाई घेरा हालेका थिए। उनीहरुले मन्त्री यादवसँग भेट्न खोजेका थिए। तर, त्यो सम्भव नभएपछि सचिव आचार्यमाथि हातहापतको प्रयास भएको मन्त्री यादवका स्वकीय सचिव रबी यादवले बताए।
मन्त्री मातृका यादवका निजी सचिवले घुस खाएको आरोप कांग्रेस निकटका कर्मचारीहरुले लगाएका छन्। उनीहरुले निजी सचिव आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाएपछि भनाभनको स्थिती पैदा भएको थियो।
कर्मचारीहरु शोभाकर रेग्मी, विश्वबन्धु रेग्मीलगायतका समूह स्वकीय सचिव आचार्यले घूस खाएको भन्दै उनको कार्यकक्षमा पुगेका थिए। उनीहरुबीच होहल्ला भएपछि मन्त्री यादवले ती कर्मचारीहरुको कठालो समाउन पुगेका थिए। जसका कारण मन्त्रालयमा केहीबेर होहल्ला भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४