शनिबार, साउन २३, २०८३

पर्यटन प्रवर्द्धन गर्न कान्छुसँग सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशसँग प्रदेश नं ५ को सरकारले पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणका लागि आवश्यक सम्झौता गरेको छ। दुवै देशका प्रान्तीय प्रमुखको उपस्थितिमा बुधबार बुटवलमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको प्रदेश नं ५ का मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।

द्विपक्षीय सहयोग र साझेदारीका लागि भएको समझदारीपत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेल र गभर्नर थाङ रनच्यानको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदानप्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समेत उल्लेख छ।

त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ। सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर सी चानयानले हस्ताक्षर गरी सहमतिपत्र आदानप्रदान गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताएका छन्।

सो अवसरमा गभर्नर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी लागेको बताउँदै द्विपक्षीय सहकार्यमार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने विश्वास व्यक्त गरे।
 
चीनको कान्छु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गरी राम्रो लाभ लिएको समेत सो अवसरमा जानकारी दिइएको थियो। नेपाल आउने स्याउमध्ये आधाभन्दा धेरै कान्छुबाट आउने गर्दछ।

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए। स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्छुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले नेपालको हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।