काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन मंगलबार पार्टी मुख्यालय धूम्बाराहीमा तयारी बैठक सम्पन्न भएको छ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान साढे ८ बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।
गत जेठ ३ गते तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको थियो। उक्त कार्यक्रममा अहिलेसम्म पार्टी एकता भए पश्चात भएका गतिविधिसमेत जानकारी गराइने केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए। दुई पार्टी एकता भएपछि अहिलेसम्म पार्टी सचिवालय, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र जिल्ला कमिटीको मात्र टुङ्गो लगाइएको छ।
पार्टी एक भएको एक वर्ष पुग्न लाग्दा पनि अहिले पनि जनवर्गीय सङ्गठनको एकता हुन सकेको छैन। अहिलेसम्म इञ्जिनीयर, निर्माण व्यवसायी, कानून व्यवसायी तीन जनवर्गीय सङ्गठनको एकता मात्र टुङ्गिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४