भैरहवा - घरजग्गा बैंकमा राखेर, चर्को ब्याजमा ऋण खोजेर विदेश जाने लहडमा नलाग्न उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले युवालाई आग्रह गरेका छन्। भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘लाखलाख रुपैयाँ खर्चेर बिदेसिनु भन्दा त्यो पैसा उद्योगमा लगाउनुहोस्। मालिक पनि आफैं हुने अनि कामदार पनि आफैं बन्ने।’
मन्त्री यादवले सरकारले जीर्ण उद्योग सञ्चालन गरेर रोजगारीको अवसर सृजना गर्ने तयारी गरिरहेको बताउँदै भने, ‘धेरै टाढा जानै पर्दैन। चिनी मिल बन्द भएको छ। त्यहाँ सबै किसानले, बिदेसिन चाहनेले एकएक लाख लगानी गर्नुहोस्। सरकार, सहकारी र किसान मिलेर सञ्चालन गरौं। विदेशमा भन्दा धेरै कमाइ हुन्छ।’
उनले जेठ १ गतेदेखि उद्योग मन्त्रालयले एकद्वार प्रणाली सुरु गर्ने पनि बताए। उक्त प्रणाली सुरु भएसँगै उद्योगी व्यवासायीले फाइल बोकेर यताउता भौंतारिरहने विगतको समस्या समाधान हुने दाबी गरे।
प्रदेश नं ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले उद्योग धन्दाको संरक्षण, संवर्द्धनमा सरकार लागिपरेको बताए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडाले विशेष आर्थिक क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४