काठमाडौं - टेलिभिजन स्टुडियोका दुई घटनाले यतिबेला नेपाली सञ्चारजगत् तरंगित भएको छ। यसबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
एभिन्युज टेलिभिजनको अन्तरवार्तामा पत्रकारको प्रश्न अशिष्ट भएपछि उपप्रधानमन्त्री उपेन्द्र यादव स्टुडियोबाटै हिँडेको घटना अनि ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा दुई नेताबीच स्टुडियोमा चलेको घम्साघम्सीको अर्को घटना। यी दुवै घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। यी घटनालाई लिएर पत्रकारको पेसागत मर्यादा र शिष्टताबारे विभिन्न कोणबाट बहस भइरहेको छ।
टेलिभिजनको स्टुडियो र प्रहरी कार्यालयमा रहेको केरकार शाखा एकै प्रकृतिका होइनन्। समानता के हो भने दुवै ठाउँमा प्रश्न सोध्ने गरिन्छ। सहभागी पात्र र प्रवृत्तिचाहिँ फरक हुन्छन्। टेलिभिजन स्टुडियोमा आउने पात्र अतिथि हुन्। प्रहरी कार्यालयको केरकार शाखामा पुग्ने आरोपित हुन्।
गत आइतबार एभिन्युज टेलिभिजनमा उपेन्द्र यादवसँग लिइएको अन्तरवार्ता झन्डै प्रहरीको केरकार शाखाको जस्तो बन्यो। कार्यक्रम सञ्चालक सुशील पाण्डे सोध्छन्, ‘फोरम र नयाँ शक्तिबीचको एकताले नेपाली जनतालाई के दिन्छ?’ यादवले उल्टै प्रश्न गर्छन्, ‘मिडियाले के दिन्छ?’ पाण्डे भन्छन्, ‘सूचना दिन्छ।’ त्यसपछि यादवले तपाईंको प्रश्न गर्ने ढंग भएन भन्दै प्रश्न गर्न सिक्न आग्रह गर्छन्। त्यसपछि पाण्डेले आफूलाई प्रश्न गर्न ढंग नसिकाउनु भन्दै आक्रोश पोख्छन्। यादवले शिष्ट भएर प्रश्न सोध्न र अन्तरवार्ता लिन सिक्न जबाफ दिन्छन्। त्यसपछि सञ्चालक कड्किन्छन्, ‘तपाईं मिडियालाई शिष्टता सिकाउने? हामी ठाडो प्रश्नको ठाडो उत्तर माग्न सक्छौं।’ त्यसपछि ल बन्द गर्नुस् भन्दै यादव उठेर हिँड्छन्।
मन्त्री यादव खोजीखोजी टेलिभिजन स्टुडियो गएका होइनन्। उनी च्यानलका अतिथि थिए। पत्रकार कानुन, नियम, शिष्टता र जिम्मेवारीबाट पर हट्न सक्तैन। आइतबारको यो घटना हेर्दा सञ्चालकमा बढी नै दम्भ देखिन्छ। उपेन्द्र यादव प्रहरीको केरकार शाखामा लगिएका आरोपित हुन्। सोध्ने पत्रकार अपराध अनुसन्धान शाखाका असई हुन्।
कार्यक्रम सञ्चालकले स्थिति सहज बनाउनु पत्रकारिताको धर्म हुन्थ्यो। कहिलेकाहीँ नेताहरू आवेशमा आउँदा पत्रकार बाझ्ने वा कुस्ती खेल्ने होइन। उपप्रधानमन्त्री जस्तो मान्छेलाई स्टुडियोमा बोलाएर दम्भपूर्ण तरिकाले ‘तँ गए जा, नसिका भन्नु’ र ठूलो लडाइँ जितेझैं गरेर त्यसलाई सार्वजनिक गर्ने र मुख्य समाचार बनाउने घटनामा पत्रकारिताको चरम दुरुपयोग भएको छ।
टेलिभिजनमा लाइभबाहेक रेकर्डिङ गरिएका दृश्य सम्पादन भएर प्रसारण हुन्छन्। त्यो कार्यक्रम लाइभ थिएन। तर एभिन्युज टेलिभिजनले ठूलो लडाइँ जिते जसरी सार्वजनिक गर्यो र सोमबार दिनभर समाचार बजाइरह्यो। यो घटनामा मन्त्री यादव पनि चोखा छन् र गल्ती गरेका छैनन् भन्न सकिँदैन। राजनीतिज्ञका हिसाबले उनले कूटनीतिक तरिकाले उत्तर दिएको भए हुन्थ्यो। परराष्ट्रमन्त्री भइसकेको नेताले ‘ठाडो तरिकाले प्रश्न सोध्न ठिक भएन’ नभनेको भए उनको व्यक्तित्व घट्ने थिएन। फरक कति हो भने आफूले अतिथि बनाएर स्टुडियोमा बोलाएका व्यक्तिलाई मुख छाड्नु पत्रकारिता होइन।
यसअघि पनि यस्ता घटना नभएका होइनन्। कृष्णप्रसाद भट्टराई र पत्रकारबीच यस्ता ठाक्क ठुक्क भइरहन्थे। त्यसलाई सहज बनाइने गरिन्थ्यो। तर गत आइतबारको घटना हेर्दा टेलिभिजनको ‘टक सो’ होइन कुनै बेला नेपालमा चलेको पँधेरो गफजस्तो भएको छ।
पत्रकारिताको अहिलेको पुस्ता कति जिम्मेवार छ भन्ने कुरा आइतबारको घटनाले प्रस्ट पारेको छ। उमेरमा आफू भन्दा जेठालाई सम्मान गर्नुपर्छ भन्ने संस्कार शून्य भएको सो घटनाले देखाएको छ। एभिन्युज च्यानलले सो घटनाको जति प्रसारण गरे च्यानलप्रति सहानूभूति होइन घृणा बढ्दै जानेछ। यद्यपि यस घटनालाई लिएर च्यानलको कार्यालय तोडफोडमा उत्रनु उचित होइन।
यसै साता अर्को टेलिभिजन ‘टक सो’ मा दुई नेताबीच हात हालाहालको अवस्था देखियो। ऋषि धमलाले प्राइम टेलिभिजनमा सञ्चालन गरेको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता रामकृष्ण यादवबीच झन्डै कुटाकुट भएको थियो। यो घटनाले पत्रकारले टक सोका लागि पात्र छनोट गर्दा ख्याल गर्नुपर्ने सन्देश दिएको छ। स्तरहीन पात्रलाई नेता बनाएर टक सोमा देखाउन खोज्दा यस्ता घटना दोहोरिन सक्छन्। यसले पत्रकारिताको मर्यादा र गम्भीरतालाई गिज्याउन सक्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...