काठमाडौं – नेपाली कांगेसका नेता गगन थापाले सरकारको गएको एक वर्ष गजब भयो भन्ने अर्थमन्त्री युवराज खतिवडालाई देश घुम्न आग्रह गरेका छन्। उनले अर्थमन्त्री खतिवडालाई प्रदेश तथा स्थानीय तहमा गएर शिक्षक, विद्यार्थी, उद्योगी, मजदुर, किसान, व्यवसायी वा अन्य कुनै पनि एकजना मेरा लागि यो वर्ष सुखद रह्यो भन्ने व्यक्ति भेटाइदिन चुनौति दिए।
संसदमा सोमबार प्रि–बजेटमाथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीलाई अर्थतन्त्रको कुरा मनगत ढङ्गबाट नगर्न आग्रह गर्दै त्यसलाई तथ्याङ्मा हेर्न आग्रह गरे। थापाले भने, 'लक्षित राजस्व संकलन भएको छैन आन्तरीक राजस्वले देशको खर्च धान्न सक्ने अवस्था देखिएको छैन, निर्यातको तुलनामा आयातको अनुपात तपाईकै पालामा बढेको छ, ९ महिना ४० प्रतिशत विकास खर्च हुन नसकेको, निर्यातको अनुपातमा आयात १४ बाट १६ गुणामा पुगेको, देशभित्रै निजी क्षेत्रमा निराशा बढेको छ।'
उनले कम्युनिष्टमा आत्मालोचनाको खुबै चर्चा हुनेभएपनि अर्थमन्त्रीले त्यो कुरा स्वीकार गर्न नसक्नु र उहाँले मैले गर्न खोजे तर सकिन अब गर्छु भनेर एउटा प्रतिवद्धता देखाउन सकेको भए देश सहि बाटोमा जाने बताए।
नेता थापाले विश्वका कैयौं मुलुकले प्राप्त गरेका समृद्धिका पाठहरु सरकारले अध्ययन गर्न आवश्यक रहेको बताउँदै विकास तथा समृद्धि प्राप्तिका लागि सरकारले प्रत्येक क्षेत्रको सुक्ष्म अध्ययन आवश्यक रहेको बताए। थापाले अगाडि भने, 'समृद्धिको परिकल्पना हावादारी भएका कारण नीति र कार्यक्रम बरालीयो, नीति र कार्यक्रम बरालीएका कारण बजेटको सिद्धान्त र कार्यक्रम अल्मलीयो। अब बजेट कस्तो आउला घस्रेला र उफ्रेला त्यो हेर्न बाँकी छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४