शनिबार, साउन २३, २०८३

जहाँ आफ्नै गाउँ जान भारतीयको अनुमति लिनुपर्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुका ६५ वर्षीया हाजी बोहरालाई कुञ्चा सर्दा जहिल्यै तनाव बढ्छ। उहाँलाई बसाइँसराइ नगर्नु परे हुने थियो जस्तो लाग्छ। उनले एक्लै गइँदैन, गाइबस्तु, घोडा खच्चड, चौँरी लालाबालासहित बसाइँ सर्नुपर्छ। बसाइँसराइ गर्दा जहिल्यै तनाव दिने विषय हो आफ्नै गाउँ जान भारतीय अनुमति लिनुपर्ने।
    
सदरमुकाम खलङ्गाबाट गाउँ पुग्न एकसाता लाग्छ। झण्डै पाँच छ दिन भारतीय बाटोको प्रयोग गर्नुपर्छ। भारतले आफ्नो बाटो प्रयोग गर्न अनुमति दिनुपर्छ। भारतको मात्र हैन, आफ्नै वडा कार्यालयको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयलेसमेत बहुयात्रा अनुमतिपत्र दिनुपर्छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुमतिपत्रका आधारमा भारतीय सरकारले अनुमति स्वीकृत गर्छ। 
    
‘नेपाली तर अनुमतिविना आफ्नै देशको भूमि जान सकिँदैन’, उनले भने, ‘नेपालतिर बाटो भइदिएको भए भारतीय पक्षको झन्झट सहनुपर्दैन थियो, पशुचौपायासहित जाँदा एकहप्ता लाग्छ, बाटोघाटो छैन्।’ अहिले भारतलेसमेत सडक निर्माण गरिरहेको हुँदा ठाउँठाउँमा बाटो अवरुद्ध छ। 
    
देशमा तीन तहको सरकार बनेको छ। तर आफ्नै भूमि जान बाटो बनाउन सकिरहेका छैनन्। झण्डै ६० को दशकसम्म आफ्नै भूमि भएर जाने गोरटो बाटो राम्रै थियो। पछिल्लो समय सो सडक निर्माणमा कसैले ध्यान दिएनन्। स्थानीय सरकारले बाटो मर्मत एवं निर्माण गर्ने भनेर गत वर्ष बजेट विनियोजन गरे पनि नटिकेको स्थानीयवासी मानसिंह तिंकरीले बताए। 
    
तिंकरीले भने, ‘नेपालतिर बाटो भएन, घोडा खच्चड, गाई गोरु, झुपा चौँरी गाई लिनका लागि भारतीयसँग हार गुहार गर्नैपर्छ, पटकपटक नेपालतिरको बाटो निर्माण हुँदैछ, कुञ्चा सर्नसम्म बाटो बन्छ भन्ने सुन्छौँ, तर अहिले आएर पूरै भारतीय बाटो भएर आउनुपर्छ।’
    
मान्छेका लागि भारत धारचुलाका उपजिल्ला अधिकारीलाई निवेदन लेख्नुपर्छ भने पशु चौपायाका लागि पशुपालन विभाग उत्तराखण्डलाई निवेदन दिनुपर्ने स्थानीयवासी जीवन बोहराले जानकारी दिए। शुरुमा वडा कार्यालयमा निवेदन, वडाले जिल्ला समन्वय, जिल्ला प्रशासन कार्यालयमार्फत मान्छेको अनुमति बनाउँछन् भने पशुका लागि पशु क्वारेन्टाइनले स्वीकृत दिनुपर्छ। दुवैतिर झण्झटिलो प्रक्रिया रहेको उनले बताए। 
    
बसाइँसराइ स्थानीय भाषामा (कुञ्चा) सर्ने तयारी गर्न झण्डै एक महीना समय लाग्छ। नेपालतिर कुञ्चा सर्नका लागि मान्छे हिँड्नसमेत साँघुरो बाटो छ। खलङ्गाबाट हिँडेका व्यासीहरु क्रमशः ऐलागाड, पाङ्ला, नज्याङ, लामारी, बुदी, गागा छाङ्गरु हुँदै सातौँ दिन तिंकर पुग्ने गर्छन्।  कुञ्चा सर्नेमध्ये एकैदिन सयौ पशु तथा ३०–४० घरधुरीको बसाइँसराइ शुरु भएको छ। 
    
व्यासीहरु छ महीना सदरमुकाम खलङ्गाको बसाइँपछि पुख्र्यौल घर कुञ्चा सरेका हुन्। सदरमुकाम खलङ्गामा गर्मी बढेको छ। गाउँमा चिसो मौसम हुन्छ भने खेतीपाती भित्र्याउनेदेखि लिएर जडीबुटी सङ्कलनका लागि पनि बसाइँ सर्नुपरेको स्थानीयवासी सुकराज ऐतवालले बताए। उनीहरु छ महीना तिंकरमा बसोबास गर्छन् भने हिमपात हुन थालेपछि चिसो छल्न सदरमुकाम खलङ्गा झर्ने गर्छन्।
    
त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गर्ने व्यासी सौका समुदायको मुख्य पेशा व्यापार हो। समुद्र सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात बढी हुने गर्छ। स्थानीयले वर्षको एकपटक उवा, नप्पल, तिते फापर, पल्ती र आलु प्रमुख खाद्य बालीका रुपमा लगाउने गर्छन्। उनीहरुको घर जग्गा जमीन सदरमुकाम खलङ्गामा समेत छ। नरेन्द्रसिह कार्की/रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।