काठमाडौं– स्पेनिस ला लिगामा आइतबार रातिको खेलमा रियल मड्रिड ३–३ गोलको बराबरीमा रोकिएको छ।
लेभान्टेको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टिमसँग रियल बराबरीमा रोकिएको हो।
रियलका लागि भिनिसियस जुनियरले दुई गोल गरे भने ग्यारेथ बेलले एक गोल गरे। बेलले करिम बेन्जेमाको पासमा खेलको पाँचौ मिनेटमै गोल गरेर रियललाई अग्रता दिलाएका थिए। उनले २०१९ पछि रियलको तर्फबाट पहिलो गोल गरेका हुन्।
यससँगै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो। खेलको ४६औं र ५७औं मिनेटमा लेभान्टेका मार्टी र क्याम्पनाले गोल गरेपछि रियल एक गोलले पछि परिसकेको थियो। तर, भिनिसियसले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यता ७९औं मिनेटमा लेभान्टेका सुअरेज पियरले गोल गरेपछि रियल फेरि एक गोलले पछि पर्यो। तर, ८५औं मिनेटमा भिनिसियले पुनः बराबरी गरेका थिए।
खेलको ८७औं मिनेटमा फर्नान्डेसले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। यो बराबरीसँगै २ अंक बनाएको लेभान्टे आठौं स्थानमा छ भने चार अंक जोडेको रियल दोस्रो स्थानमा छ।
यता दुवै खेलमा जित निकालेको एट्लेटिको भने ६ अंकका साथ शीर्षस्थानमा छ। आइतबार रातिको खेलमा एट्लेटिकोले एल्चेलाई १–० गोलले हराएको थियो।