काठमाडौं - सांस्कृतिक सम्बन्ध विस्तार गरी चित्रकलासम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल र भारतका चित्रकारको सहभागितामा भएको पाँचदिने ‘इण्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी बिहीबार सम्पन्न भएको छ।
‘सेड द लाइट पिस मेकर’को आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र नेपाल कला परिषद्को सहयोगमा यही वैशाख १५ देखि भएको ‘इण्डो–नेपाल कलाउत्सव’अन्तर्गत चित्रकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गरे।
समापनका क्रममा उनले यस्ता कार्यक्रमले दुई देशको सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने र कला आदानप्रदान हुने बताए। प्रतिष्ठानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुष्माराज भण्डारीले दुई देशका चित्रकारबीच भएको प्रदर्शनीले आपसी अनुभव आदानप्रदानमा महत्वपूर्ण सहयोग पुगेको बताइन्।
प्रदर्शनीका संयोजक सपना शाहले नेपाल र भारतको संस्कृतिको आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि उत्सव आयोजना गरिएको बताइन्। यहाँ नेपाली २४ र भारतका १०, बङ्गलादेशका र बेलायतका एक/एक गरी ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा राखिएको थियो। प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उद्घाटन गरेका थिए।

प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४