काठमाडौं- दोस्रो हाफको सुरुबाटै एक गोललेपछि परेको अवस्थामा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ।
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिम एथ्लेटिक क्लबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो।
सान ममेज बारिया रंगशालामा सम्पन्न खेलमा घरेलु टिम एथ्लेटिकका इनिगो मार्टिनेजले खेलको ५०औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए।
त्यसअघि खेलको पहिलो हाफ भने गोलरहित बराबरीमै रोकिएको थियो। यता ७५औं मिनेटमा जर्सी रोबर्टोले दिएको पासको उपयोग गर्दै डिपेले गोल गरे।
खेलको अन्तिममा १० खलाडीमा समेटिएको रोनाल्ड कोम्यानको टिमले दुई खेलबाट चार अंक बनाएको छ। चार अंकका साथ बार्सिलोना शीर्षस्थानमा छ। उसले पहिलो खेलमा रियल सोसिडाडविरुद्ध सहज जित निकालेको थियो।
खेलको इन्ज्युरी समयमा बार्सिलोनाका इरिक गर्सियाले रातो कार्ड खाएपछि भने बार्सिलोना केही मिनेटका लागि १० खेलाडीमा समेटिएको थियो। यता दुई खेलबाट दुई अंक बनाएको इथ्लेटिक क्लब भने नवौं स्थानमा छ।
त्यस्तै, शनिबार राति सम्पन्न एस्पानोयल र भिल्लायिलको खेल गोलरहित बराबरीमा रोकिएको छ। त्यस्तै, रियल बेटिस र कार्डिजले १–१ गोलको बराबरी खेलेका थिए।
१–१ गोलको बराबरी खेल्नेमा ग्रानाडा र भ्यालेन्सिया पनि रहे। यता अलावेसको मैदानमा पहुना टिम मायोर्काले भने १–० गोलको संघर्ष पूर्ण जित निकालेको थियो।