पटना (भारत) – भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला करातें प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिताको उपाधि नेपाली टिमले चुमेको छ। नेपाली टोलीले २० स्वर्ण , ६ रजत र १ कास्य सहित टिम च्याम्पिएन बन्न सफल भएको हो।
जापान गोजुरीयो कराँते डो मिसन संघका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा भारतको विहार राज्यको पटनास्थित पाटलीपुत्र स्पोर्टस स्टेडियममा बुधबार सम्पन्न प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रस्तुती दिँदै पहिलो भएको हो।
प्रतियोगितामा नेपाली टिमले भारत, बंगलादेश, भुटान लगायतका देशका खेलाडीलाई पराजित गरेको थियो। च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितिय र बंगलादेश तृतीय भए।
च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरीन्। रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन्। रानासंगै सिनियरतर्फ सन्तु थारु ५५, छीरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए।
१९ वर्षमुनिको जुनियर तर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समुहमा स्वर्ण पदक प्राप्त गरे। १७ वर्षमुनीको ( सब जुनीयर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे।
१४ वर्षमुनीको (केडर) उमेर समूहमा प्रियंका थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जिवन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समुहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे।
यसैगरी १० वर्षमुनीको (सब केडर) उमेर समूहमा अमीसा पोखरेल ३०, आदित्य क्षेत्री २०, बिवेक सेन ठकुरी २५ र गौरब पौडेलले ३० केजी तौल समुहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४