काठमाडौं– इटालीको शीर्ष डिभिजनको फुटबल लिग सिरी ए आजबाट सुरु हुँदैछ। सिरी ए को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले जिनोआसँग खेल्नेछ।
इन्टर पछिल्लो सिजन ९१ अंकका साथ लिग जितेको थियो। दोस्रो हुने एसी मिलानको ७९ अंक थियो भने तेस्रो भएको एटलान्टाको मिलानको भन्दा एक अंक कम थियो।यता त्यसअघि लगातार ९ सिजन उपाधि जितेको युभेन्टस भने ७८ अंकका साथ चौथो स्थानमा खुम्चिएको थियो।
आउँदो सिजन पनि यिनै क्लबहरु लिगमा हाबी हुने अनुमान समर्थकहरुले लगाएका छन्। त्यसबाहेक स्टार प्रशिक्षक होसे माउरिन्होलाई अनुबन्ध गरेको रोमालाई पनि यो सिजनमा शीर्ष चार क्लबको रुपमा हेरिएको छ।
रोमाले चेल्सीका फरवार्ड टामी अब्राहमलाई पनि अनुबन्ध गरेको छ। यता साविक विजेता इन्टर मिलानले भने पछिल्लो सिजनमा टिमका सर्वाधिक गोलकर्ता लुकाकूलाई इतिहासकै सर्वाधिक मूल्यमा चेल्सीलाई बेचेको छ।क्बलका उत्कृष्ट डिफेन्डर आर्चिफ हाकिमी पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पुगेका छन्। यद्यपी इन्टरसँग लाउतारो मार्टिनेज, अर्थुरो भिडाल, निकोलो ब्यारेला, इभान पेरिसिच लगायत खेलाडी छन्।
२० टिम सम्मिलित लिगमा शीर्ष चारमा पर्ने टिम युरोपियन च्याम्पियन्स लिगमा छनोट हुनेछन्। त्यसैले, लिग विजेताबाहेक शीर्ष चारमा पर्न पनि निकै प्रतिस्पर्धा हुने गरेको छ।गएको सिजन इन्टर मिलानले ११ वर्षपछि लिग जितेको थियो। त्यसपछि २०१०/११ को सिजन भने लिग उपाधि एसी मिलानाले जितेका थिए।
२०११ यता सबै लिग उपाधि युभेन्टसले जितिरहेको छ। १९९४ यता च्याम्पियन्स लिग नजितेको युभेन्टसले युरोपियन विजेता बन्न २०१८ मा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुबन्ध गरे पनि उसको खेलमा खास सुधार आएको छैन।
गएको वर्ष त युभेन्टस शीर्ष चारमा पुग्न पनि मुस्किल परेको थियो। प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेपछि युभेन्टसले अहिले प्रशिक्षक मासिमिलानो एलेग्रीलाई क्लबमा फिर्ता बोलाएको छ।
तर रोनाल्डो पछिल्लो सिजनका सर्वाधिक गोलकर्ता बनेका थिए। क्लबमा एलेग्री फर्किएपछि उसको खेल सुध्रिने विश्वास छ। यता एसी मिलानले पछिल्लो सिजनबीच शीर्षस्थानमा पकड बनाउँदै आएको थियो। तर लिगको अन्तिम समयमा उसको प्रदर्शन खस्किएपछि उसले उपाधि दावेदारीमा पकड बनाइराख्न सकेको थिएन।त्यसैले, यो सिजनमा युभेन्टस, इन्टर मिलान, एसी मिलान र रोमाले उपाधिका लागि खरो प्रतिस्पर्धा गर्नेछन्।
सिरी ए अन्तर्गत पहिलो खेलमा इन्टर मिलानले जिनोवासँग खेल्नेछ। यो खेल राति सवा १०:०० बजे सुरु हुनेछ। त्यस्तै, सोहि समयमा भेरोनाले घरेलु मैदानमा ससुअलोलाई स्वागत गर्नेछ।राति साढे १२ बजे सुरु हुने खेलमा इम्पोलीले लाजियोको सामना गर्नेछ भने टुरीनोले घरेलु मैदानमा एटलान्टालाई स्वागत गर्नेछ।