श्रीलङ्का - श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतहरूले बताएका छन्।
आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। अहिलेसम्म कम्तीमा १५६ जनाको मृत्यु भएको र चार सयभन्दा बढी व्यक्ति घाइते भएको पुष्टि भएको छ।

घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्।
उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।
विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए।
श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन्।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए। अहिलेसमम्म आक्रमणको कसैले जिम्मा लिएको छैन।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाको निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।
श्रीलङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

विस्फोटनपछि विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ। घटनापछि सकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।