काठमाडौं – अमेरिकी होमल्यान्ड सेक्युरिटी प्रमुख क्रिस्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले राजीनामा दिएको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्। ट्रम्पले यसबारे जानकारी दिँदै उनको सहयोगका लागि धन्यबाद व्यक्त गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएको बताइएको छ।
निल्सनको राजीनामासँगै उनको स्थानमा केभिन म्याकअलीनानलाई ल्याइएको छ। म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत रहेका छन्।
“जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,” निल्सनले लेखेको पत्रमा उल्लेख छ ,“अब नियुक्त हुने मन्त्रीले आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुकाउँदै जानेमा मैले विश्वास लिएकी छु।” उनी सन् २०१७ को डिसेम्बरदेखि उक्त पदमा रहेकी थिइन्।
अमेरिकी कानुनी व्यवस्थामा रहेका जटिलताका कारण आप्रवासीहरु सहजै अमेरिका प्रवेश गर्ने गरेको पूर्वमन्त्री निल्सनको धारणा छ। यही तथ्यलाई मनन गरी ट्रम्प प्रशासनले गृह विभागमा व्यापक फेरबदल गर्न चाहेको उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४