जनकपुरधाम - प्रदेश २ सरकारले हावाहुरीका कारण बारा र पर्सामा ज्यान गुमाएकाहरुको १३ औं पुण्यतिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ। आइतबार सम्पत्र मन्त्रिपरिषद् बैठकले १३ औं पुण्यतिथि अर्थात् चैत ३० गते प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक विकासमन्त्री जितेन्द्र सोनलले जानकरी दिए।
बैठकले १३ औं पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक सबैलाई ११ बजे दुई मिनेट मौनधारण गर्न आह्वानसमेत गरेको छ।
भीषण हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान जानुका साथै ६ सयभन्दा बढी घाइते भएका छन्। हावाहुरीका कारण करोडौं मूल्य बराबरको धनजनको क्षति भए पनि संघीय सरकारले राष्ट्रिय शोकको घोषणा नगरेपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले मृतक परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
तराईमधेसले भोगेको यस्तो विपद् अवस्थामा समेत संघीय सरकारले राष्ट्रिय शोक घोषणा गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको मन्त्री सोनलले बताए।
राष्ट्रिय शोक घोषणा नगरेर संघीय सरकार मधेसी जनताको दुःखप्रति गम्भीर नरहेको प्रमाणित भएको उनको कथन छ। मधेसका जनताले यस्तो विपद् सामना गरिरहेका बेला संघीय सरकारले राष्ट्रिय शोक घोषणा गर्न नसक्नु मधेसप्रतिको उसको भावना प्रस्ट भएको सोनलले बताए।
घटनाकै दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गृहजिल्ला झापा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४