काठमाडौं। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई बिहार राज्यमा झट्का लागेको छ।
बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा भाजपाको परम्परागत सिटमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्। यस क्षेत्रबाट भारतीय जनता पार्टीका नीरज कुमार उम्मेदवार रहेका थिए।
बाँकीपुर क्षेत्र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत क्षेत्र मानिन्छ। उनी यहाँबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए। नितिन नवीन राज्यसभामा गएपछि उक्त क्षेत्रमा उपनिर्वाचन गरिएको हो।
भाजपाको यस हारलाई ठुलो झट्काको रुपमा भारतीय मिडियामा विश्लेषण गरिएको छ। कतिले यसलाई भाजपाको पतनको शुरुवात समेत भनेका छन्। अर्कोतर्फ २०२५ को विधान सभा निर्वाचनमा खाता खोल्न नसकेका प्रशान्त किशोरले भाजपालाई झट्का दिदै विधान सभामा पुगेका छन्।
त्यस्तै मध्य प्रदेशको दतिया विधानसभा क्षेत्रमा कांग्रेसका उम्मेदवार घनश्याम सिंह विजयी भएका छन् भने गुजरातको मांजलपुर विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका सत्येन्द्रभाई (सतीश) पटेल विजयी भएका छन्। तीनै विधानसभा क्षेत्रमा गत जुलाई ३० मा मतदान भएको थियो।