वीरगंज- भीषण हावाहुरीका कारण भएको दुर्घटनामा घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा अझै पनि जारी रहेको छ । सरकारी स्वामित्वको नारायणी अस्पतालमा १७ जना घाइते अझैपनि उपचाररत छन् ।
अस्पतालमा उपचार गराइरहेका घाइते र तिनको कुरुवाको लागी तत्कालै विभिन्न संघसंस्थाले सकृयतापूर्वक अस्पताल परिसरमा मेस संचालनमा ल्याएर बिरामी र कुरुवाको लागी नि:शुल्क खाना उपलब्ध गराए ।
मेस संचालनको लागी सामाजिक संस्था र राजनीतिक दलका भ्रातृ संगठनको होड नै चलेको थियो । यो होडका कारण पीडितले सहजरुपमा अस्पतालमा खाना पाए ।
सोमबार बिहानदेखि लगातार चलेको मेस शुक्रबार बिहानदेखि भने पूर्व सुचनाबीना नै अचानक बन्द गरिएको छ। भीषण हावाहुरीपछि भागमभाग गर्दै ज्यान जोगाएर घाइतेलाई उपचारको लागी अस्पताल लिएर पुगेका आफन्तजनसँग गोजीमा पैसा नहुँदा साथमा रहेका वृद्धवृद्धा र बालबालिका समेत पर्याप्त खाना पाएका छैनन् ।
घाइते र कुरुवा आफन्तसँगै अस्पतालमै आश्रय लिइरहेका पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको सबै भन्दा बढी बिजोग छ । समयमा र पोषिलो खानेकुरा पाएका छैनन् । अस्पतालमा उपचाररत घाइतेको लागी ६ जना बालबालिकासँगै ३४ जना कुरुवा रहेका छन्।
'तात्तातोमा सहयोगका लागी हानाथाप गर्नेहरु अहिले एकाएक गायब भएका छन्ु,सामाजिक अभियन्ता जयमोद ठाकुरले भने,'होटलमा खान पुगेका बेखर्चीले खाना पाएनन्, अस्पतालले बिरामीलाई मात्र खाना खुवाइ रहेको छ ।'
अभिभावक नै अस्पतालको शैय्यामा उपचार गराइरहेका परिवारले कुरुवाको लागी खानाको जोहो गर्न झनै असम्भव छ । केहीले आफन्तको सहयोगमा खानाको जोहो गरेका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पीडितको अवस्था हेरेर अस्पताललाई तत्कालको लागी कुरुवालाई समेत खाना खुवाउने व्यवस्था मिलाउन निर्देशन दिने आश्वासन दिए। उनले भने, सक्नेले आफैले जोहो गर्नु उचित हुन्छ, असाह्यलाई सहयोग गरिनेछ ।
गत आइतबार साँझ आएको भीषण चक्रवातबाट बारा र पर्सामा पाँचभन्दा बढी घाइते भएका थिए । तीनमध्ये अझैपनि केहीको उपचार जारी रहेको छ ।
पूर्ण र आंशिक रुपमा क्षतिग्रस्त पुगेको घरधुरीको संख्या ५०९ रहेको छ । यीमध्ये १२२ घरधुरी पूर्णरुपमा क्षतिग्रस्त भएको छ। त्यस्तै बारामा सबैभन्दा बढी ९ सय ३७ वटा घर पूर्णरुपमा र ९ सय ५५वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार हावाहुरीका कारण दुर्घटनामा परेर मृत्यु भएका २८ मध्ये ११ महिला १० जना पुरुष र ७ बालबालिका रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४