वीरगंज – हावाहुरी प्रभावित बाराका पीडितका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करिब ५० लाख रुपैयाँ भन्दा बढी मूल्यको सोर्य बत्ती र सुधारिएको चुल्हो उपलब्ध गराएको छ।
केन्द्रले बारा जिल्लाको विभिन्न गाउँपालिका अन्तर्गतको नौ सय पचास प्रभावित परिवारको लागी ब्याट्री, सौर्य प्यानल र सौर्य बत्ती सहितको सामाग्री उपलब्ध गराएको हो। साथै प्रभावित परिवारलाई थोरै उर्जाबाट खाना पकाउन सकिने सुधारिएको चुल्हो समेत केन्द्रद्वारा उपलब्ध गराइएको छ।
प्रति सेट ३ हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने सौर्य बत्तीले रातको समयमा एउटा परिवारलाई पर्याप्त मात्रामा उज्यालो पुग्ने केन्द्रले जानकारी दिएको छ।
वैकल्पिक उर्जासँग सम्बन्धित उपयोगी उपकरण, सुधारिएको चुल्होबारे अनुसन्धान, उत्पादन र वितरणको क्षेत्रमा सकृय संस्था हस्क पावर नेपालले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित परिवारको लागी १ हजार थान सुधारिएको चुल्हो उपलब्ध गराएको छ।
करिब २० लाख रुपैयाँ मूल्य बराबरको सुधारिएको चुल्हो उपलब्ध गराइएको हस्क पावरका प्रबन्ध निर्देशक मनोज गुप्ताले बताए।
वैकल्पिक उर्जा केन्द्रका वरिष्ठ प्रशासकीय अधिकृत मदन केसीले बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई जिल्ला प्रशासन कार्यालय बारामा केन्द्रको तर्फबाट सामाग्री हस्तान्तरण गरेका हुन्। यो सोलार बत्ती र सुधारिएको चुल्हो जिल्ला विपद व्यवस्थापन समितिमार्फत् नै वितरण गरिने भएको छ।
राहत वितरणमा नियमन नहुँदा जथाभावी वितरण भएको र राहत सामाग्री नै लुटपाट हुन थालेको भन्दै व्यापक आलोचना भएपछि जिल्ला विपद व्यवस्थापन समितिले बिहीबारदेखि एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४