काठमाडौं- दोस्रो चरणको ओलम्पिक छनोटको दोस्रो खेलमा नेपाल भारसँग पराजित भएको छ । म्यानमारको मान्दलर थिरी स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३-१ ले पराजति भएको हो ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप दुई गोल गर्दै भारत विजयी भएको हो । खेलमा सुरुवाती अग्रता भारतले नै लिएको थियो । खेलको छैठौं मिनेटमा सन्जुको गोल मार्फत भारतले सुरुवाती अग्रता लिएको थियो ।
तर, त्यसको एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्काएको थियो । मिड फिल्डबाट गिता रानाको लामो पासलाई स्ट्राइकर सावित्रा भण्डारीले अघि बढाउदै डि-बक्स भित्रबाट कप्तान निरु थापालाई दिएको पासमा निरुले सहजै गोल गरेकी हुन् ।
तर, दोस्रो हाफमा भारतले आक्रमक खेल प्रस्तुत गर्दै नेपालाई थप दुई गोल गर्यो । खेलको ६० औं मिनेटमा सन्ध्या रंगनाथनले हेडर मार्फत गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाइन् । त्यस्तै खेलको ७९ औं मिनेटमा कप्तान आसालिता देवीले पेनाल्टीमा गोल गर्दै भारतलाई ३-१ को जित दिलाईन् ।
गोलरक्षक अन्जली तुम्बापो सुब्बाले डि-बक्स भित्र फाउल गरेपछि भारतले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी आसालिताले खेर फालिनन् । यस हारसँगै नेपालको तेस्रो चारणको यात्रा कठिन बनेको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
भारतको भने यो दोस्रो जित हो । यसअघि भारतले आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई पराजित गरेको थियो । अब नेपालले प्रतियोगितामा आफ्नो अन्तिम छनोट खेल नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४