वीरगंज – गत आइतबार साँझ आएको भीषण चक्रवातबाट प्रभावित बस्तीमा शौचालयको व्यवस्था नहुँदा दुर्गन्धसँगै रोग फैलनसक्ने जोखिम बढेको छ।
फेटा गाउँपालिकाको भरवलिया र पुरैनियामा ठूलो संख्यामा घर क्षतिग्रस्त हुँदा शौचालयसमेत भत्किएको छ। दाताहरुको सहयोगमा सेनाले त्रिपाल र टेन्ट गाडेर अस्थायी आवासको व्यवस्था गरेपनि शौचालय नहुँदा दिशापिसाब गर्न स्थानीयलाई निक्कै सकस भइरहेको छ।
दिनभर खुला आकाशमुनि दिशापिसाब गर्न सक्ने अवस्था छैन। दिशापिसाब लाग्ने डरले विशेष गरी महिला र वृद्धवृद्धालाई दिनभर खान र पानी पिउन पनि डराउनुपर्ने अवस्था रहेको छ।
‘रातको समयमा लुकीछिपी शौंच गर्न जानुपर्छ', स्थानीय गायत्री देवी बैठाले भनिन्, ‘दिउँसो लागिहाल्यो भने आपत पर्छ।' उनले अस्थायी छानोसँगै शौचालय र पानीको पनि व्यवस्था गर्न आग्रह गरिन्।
भरवलियाका रामाशिष पटेलले आवासको लागि थोरबहुत पालको व्यवस्था हुनथाले पनि शौचालयको सुविधा नहुँदा निक्कै गाह्रो भएको गुनासो गरे। ‘हामीले शौचालयको लागि आग्रह गरिरहेका छौं', पटेलले भने, ‘सेनालाई अहिले शौचालय भन्दा पनि अस्थायी त्रिपाल लगाउनुपर्ने प्राथमिकता भएकोले पनि भ्याएको छैन होला।'
राहत कार्यमा खटिएका नेपाली कांग्रेसका स्थानीय नेता लोकेश सिंहले पीडितको लागि खाद्यान्न र अन्य आवश्यक सामाग्रीको पर्याप्त मात्रामा उपलब्धता रहेकोले सरसफाई र शौचालयको तत्काल व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘व्यवस्थित रुपमा शौचालयको सुविधा उपलब्ध नभए चर्को गर्मीमा कारण कुनै पनि समयमा हैजालगायतको संक्रमण फैलिन सक्ने खतरा छ।'
बस्तीमा खानेपानी आपूर्तिको लागि गाडिएको ह्याण्डपम्प (चापाकल) को ह्याण्डसेट चक्रवातले क्षति पुर्याएपछि खानेपानीकोसमेत अभाव देखिएको छ। विशेषगरी चापाकल गाड्ने कार्यमा निपुण मानिएका पर्साको सबैठवाका प्राविधिकको निःशुल्क श्रमदानमा प्रभावित क्षेत्रमा चापाकल गाडेर पानीको आपूर्ति सहज बनाउन प्रयास गरिरहेका छन्।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले संघको पहलमा वीरगंज वडा नम्बर २२ जगरनाथपुरमा प्रभावित बस्तीमा खानेपानीको लागि चापाकल मर्मत गरिएको जानकारी दिए।
दुई स्थानमा स्वास्थ्य चौकी र पाँच स्थानमा अस्थायी शिविरमार्फत उपचार सेवा उपलब्ध गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख प्रेमचन्द्रप्रसाद जयसवालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बाराको आग्रहमा मेडिसिटी अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाले अस्थायी स्वास्थ्य शिविर समेत संचालनमा ल्याएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४